काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले समस्याग्रस्त आयोजनाहरुमा समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । मंगलबार शहरी विकासमन्त्रालय अन्तर्गतका कार्यालय प्रमुखहरुलाई मन्त्रालयमा बोलाएरै उनले समस्याग्रस्त आयोजनाबारे चासो राखेका हुन् ।
उनले आयोजनामा के कारणले समस्या देखिएको हो, त्यसबारे पहिचान गरी तत्काल समाधान निकाल्नुपर्नेमा जोड दिए । मंगलबार मन्त्रालयमै भएको छलफलमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन र नयाँ शहर आयोजनाका निर्देशक एकराज अधिकारीले आफ्नो कार्यालय अन्तर्गतका आयोजनामा रहेका समस्या र चुनौतीबारे जानकारी गराएका थिए ।
कार्यालय प्रमुखहरुले कतिपय आयोजनामा ठेकेदारले नियतवस काम नगर्दा समस्या देखिएको, केहीमा ठेकेदारले काम गरिरहँदा पनि केही प्राविधिक समस्या भएको र केही योजनाहरु भने अदालतमा मुद्दा परेकाले रोकिएको बताएका थिए ।
समस्याग्रस्त आयोजनाबारे जानकारी लिएपछि उपप्रधानमन्त्री सिंहले कार्यान्वयनमा लैजान नसकिएका, ठेकेदारले काम लिएर कामै नगरेको र काम गर्दागर्दै पनि समस्या भएको आयोजना वर्गीकरण गरेर कानूनसम्मत समाधानको उपाय खोज्नुपर्ने बताएका थिए ।
मन्त्रालयले सहजीकरण गर्दा अघि बढ्न सक्ने योजना भए तत्काल त्यसका लागि आवश्यक काम थाल्न पनि विभाागिय प्रमुखहरुलाई निर्देशन दिएका थिए । ‘आयोजनामा भएको समस्या के हो ? र समाधानको उपाय के हुनसक्छ ? समस्या देखाउने मात्र नभई समाधानको विकल्पसहित तयारी गर्नुस् ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘कार्यान्वयनमा लैजान नसक्ने काम छ भने त्यसमा के गर्ने कानूनसम्मत टुंगोमा पुग्नुपर्छ । काम गरिरहेको तर पूरा गर्न नसक्नेलाई मौका दिनसकिन्छ । तर, ठेक्का लिएर समय थप पछि थप मात्र गर्ने काम अब नहोस् । परिणाम आउने गरि काम गर्नुपर्छ ।’
उनले विकास निर्माणका काम वर्षौसम्म अलपत्र पार्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ बजेट नागरिकले महसुस गर्ने विकासको खाकासहित आउँछ : उपप्रधानमन्त्री सिंह
मैले नेतृत्व गरेँ भने काँग्रेसलाई संस्थागत र मजबुत बनाउँछु : प्रकाशमान सिंह
देश विकास गर्न सरकार अग्रसर छ : उपप्रधानमन्त्री सिंह
अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह
अव्यवस्थित काठमाडौंलाई व्यवस्थित बनाउन काम थाल्छौं : उपप्रधानमन्त्री सिंह
आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनको सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह