माछा संरक्षण गर्दै बागलुङका स्थानीय तह

रासस

मंगलबार, २९ माघ २०८१, १२ : २१
माछा संरक्षण गर्दै बागलुङका स्थानीय तह

बागलुङ । जिल्लाका तीन स्थानीय तहले नदी खोलाका माछा संरक्षणमा जुटेका छन् । गलकोट नगरपालिकाले तीन वर्ष अघि जलचर संरक्षण ऐन अनुसार माछा संरक्षण गर्ने, युवालाई माछा मार्न अनुमति दिई आम्दानी लिन थालेको छ । माछाले फुल पार्ने समयमा माछा मार्न प्रतिबन्ध लगाउने, विषादी र करेन्ट लगाएर माछा मार्न नपाइने र अवैध माछा मार्नेलाई कारबाही गर्ने नीति कार्यान्वयन गरेपछि माछा उत्पादन वृद्धि भएको छ ।

फुल पार्ने समयमा माछा हुर्कन पाएपछि उत्पादन दोब्बर भएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । यहाँको दरमखोलामा पाइने असला माछा प्रसिद्ध भएकाले संरक्षणसँगै स्थानीयलाई रोजगारीमा जोड्न गलकोट नगरपालिकाले कानुन निर्माण गरी लागु गरेको जनाएको छ ।

गलकोटकै अनुसरण गर्दै काठे खोला गाउँपालिकाले पनि १६औँ गाउँ सभामार्फत जलचर संरक्षण ऐन ल्याएको छ । काठेखोलामा पाइने असला माछा संरक्षण गर्ने, माछा मार्न निश्चित समयका लागि अनुमति प्रदान गर्ने र चलचरको संकट टार्न ऐन ल्याएको गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले जानकारी दिए ।

जलचर संरक्षण ऐनमा करेन्टले माछा मार्न नपाइने, विष हाल्न नपाइने र दुवाली थुन्न नपाइने उल्लेख छ । ऐन कार्यान्वयन गरेपछि संकटमा रहेका असला माछाको संरक्षण हुने र समुदायलाई आम्दानीको स्रोत वृद्धि हुने गाउँपालिकाले जनाएको छ ।

“खोलाको क्षेत्रमा समूह गठन गरी संरक्षण र उत्पादनमा जोड दिने, गाउँपालिकाले माछाको उत्पादन बढाउन खोलामै पूर्वाधार बनाउनसमेत सक्नेछ”, उपाध्यक्ष थापाले भने “समुदायलाई खोलाको, माछाको संरक्षणको जिम्मा दिएपछि उनीहरूले आम्दानी गर्न सक्नेछन् ।”

 

प्रतिक्रिया दिनुहोस