जलवायु उत्तरदायी बजेट ६ बाट २० प्रतिशत पुर्‍याइने

रासस

सोमबार, २८ माघ २०८१, १२ : ५७
जलवायु उत्तरदायी बजेट ६ बाट २० प्रतिशत पुर्‍याइने

काठमाडौँ । नेपाल सरकारको राष्ट्रिय योजना आयोगद्वारा आयोजित सचिव स्तरीय छलफलबाट जलवायु उत्तरदायी बजेटलाई हालको ६ प्रतिशतबाट वृद्धि गरी २० प्रतिशत पुर्‍याउने महत्त्वपूर्ण निर्णय गरिएको छ। बुढानीलकण्ठ, काठमाडौँमा आयोजित नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरू सहभागी छलफलले दीर्घकालीन विकास रणनीति, हरित अर्थतन्त्र प्रवर्द्धन, जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका लागि ठोस मार्गचित्रसमेत अघि सारेको छ।

नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्दै दिगो विकासलाई प्रवर्द्धन गर्नका लागि आगामी आवधिक योजना, मध्यमकालीन खर्च संरचना र वार्षिक बजेटबीच समन्वय गर्दै जलवायु उत्तरदायी बजेटलाई उल्लेखनीय रूपमा वृद्धि गर्ने योजना बनाएको छ।

यस छलफलमा प्रस्तुत मुख्य बुँदाहरूमा जलवायु परिवर्तन अनुकूलन, प्रदूषण नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा कार्बन न्यूनीकरणका लागि लगानी विस्तार गर्ने योजना समेटिएको थियो। राष्ट्रिय अनुकूलन योजना तथा स्थानीय अनुकूलन कार्य योजना कार्यान्वयन गर्दै नेपालको विकास गतिविधिलाई सन् २०४५ सम्म कार्बन न्यूनीकरण लक्ष्यतर्फ उन्मुख गरिने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस