पर्वत । पर्वतकाे फलेवास नगरपालिका-११ पाङ्राङका कृषकले काँक्रोको बिउ बिक्री गरेर ६ करोड रुपैयाँ आम्दानी गरेका छन्। २५ वर्षदेखि काँक्राको बिउ उत्पादन गर्दै आएका यहाँका कृषकले योपटक ६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेका हुन्।
स्थानीय कृषक सूर्यबहादुर कुँवरको नेतृत्वमा २०५७ मा नारायणस्थान बिउ उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा बिउ उत्पादनमा लागेका कृषकले यो वर्ष ६३ क्विन्टल काँक्रोको बिउ उत्पादन गरेका छन्।
प्रतिकिलो १० हजारका दरले बिक्री गर्दा उक्त रकम भित्र्याएको कृषक बाबुराम भुसालले जानकारी दिए। उनका अनुसार गत वर्ष ७० क्विन्टल बिउ उत्पादन भएकामा यो वर्ष ६३ क्विन्टल मात्र भएको हो। गत वर्ष सात करोड आम्दानी भएको थियो। उनका अनुसार कृषकले भक्तपुरे लोकल जातको काँक्रोको बिउ उत्पादन गर्दै आएका छन्।
समूह गठन भएको शुरुको वर्ष चार किलो काँक्राको बिउ र ६५ किलो ४० दिने मूलाको बिउ उत्पादन भएको कृषक भुसालले जानकारी दिए। सुरुआतमा ८०० का दरले बिक्री गरेका कृषकले अहिले १० हजार रुपैयाँमा बिक्री गर्दै आएका उनले बताए।
केही वर्ष मूला, उन्नत जातको गोलभेँडा, चम्सुरलगायत बिउ उत्पादन हुँदै आएको थियो। मनग्य आम्दानी हुन थालेपछि केही वर्षदेखि काँक्रोको बिउ मात्र उत्पादन गर्न थालेको भुसालले बताए। उनका अनुसार यहाँका ७२ परिवारले व्यावसायिक रूपमा काँक्रोखेती गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, ०८ : ०९
लेखकबाट थप