काठमाडौँ । भक्तपुरको कमलविनायकबाट नगरकोट जोड्ने सडक समयमै नबनाउँदा निर्माण व्यवसायीलाई जरिवाना गरिएको छ ।
कमलविनायक–भत्केको पाटी–नगरकोट सडक निर्माणको ठेक्का लिने शैलुङ/एआईपीएल जेभीले (आरामाली इन्फ्रा पावर लिमिडेट) तीन पटक म्याद थप्दासमेत काम नसकेपछि दैनिक जरिवाना गरिएको हो ।
सडक आयोजना प्रमुख नरेन्द्रनाथ कोइरालाका अनुसार काम नगरेबापत निर्माण व्यवसायीले २ सय दिन (करिब ७ महिनासम्म) ठेक्का रकमको ० दशमलव ५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ । यस हिसाबले दिनको १ लाख ४० हजारका दरले जरिवाना रकम २ करोड ८० लाख हुन्छ । उनले निर्माण कम्पनीलाई दिइने भुक्तानीमा जरिवाना रकम कटाएरमात्र दिइने बताए ।
शैलुङ जेभी नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी हो भने एआईपीएल भारतीय निर्माण कम्पनी। ‘एक्जिम बैंक इन्डिया’ को सहयोगमा भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली योजनाअन्तर्गत सडक निर्माण थालिएको हो ।
दुई वर्षमा काम सक्ने गरी सन् २०१४ जुन ५ मा २८ करोडमा सडक निर्माण सम्झौता भएको थियो । अहिलेसम्म ५० प्रतिशतमात्र काम भएको आयोजनाले जनाएको छ । ‘जेठ मसान्तमा तेस्रोपटक थप गरिएको म्याद सकिएको हो,’ कोइरालाले भने, ‘पटक/पटक म्याद थप्दा २/४ जना मात्र जनशक्ति राखेर काम गरेको पाइयो, जरिवाना लगाएपछि काम गरिरहेको ठेक्का तोड्न मिलेन ।’ जरिवाना लगाएपछि काममा प्रगति भएको उनले बताए । सडक विभागका प्रवक्ता मुक्ति गौतमले पनि म्याद थप्दासमेत काम नगर्ने ठेकदारलाई जरिवाना गराउँदै आएको बताए ।
ठेक्का तोडेर नयाँ लगाउँदा झन् धेरै खर्च हुने भएकाले जरिवाना गरेर भए पनि काम दिएको उनले बताए । आयोजनाका कन्सल्ट्यान्ट इन्जिनियर नरेशराम बाबुका अनुसार निर्माणमा ४९ प्रतिशत शैलुङ र ५१ प्रतिशत एआईपीएलले दायित्व लिएका छन् । अझै १६ किलोमिटर सडक निर्माण बाँकी रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १४ कार्तिक २०७५, ०८ : ५२
लेखकबाट थप