काठमाडौं । नेकपा एकीकृत समाजवादीले वर्तमान सत्तागठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको दाबी गरेको छ । अन्तरपार्टी निर्देशन (अपानि-४) जारी गर्दै एकीकृत समाजवादीले सत्ता गठबन्धन अराजनीतिक साँठगाँठ भएको दोहोर्याएको छ ।
अपानिमा भनिएको छ, ‘अहिलेको सत्ता गठबन्धन केवल अराजनीतिक साँठगाँठ हो भन्ने हाम्रो विश्लेषण झनपछि झन पुष्टि हुँदै गएको छ । त्यसका अयोग्यताले आम असन्तुष्टि बढ्ने र सत्ताको नालायकी अझ गम्भीर बन्दै जाने दुश्चक्रमा यो गठबन्धन फस्दै गएको छ ।
सरकार देश र जनताको हित प्रतिकूल अगाडि बढिरहेको पनि उसको दाबी छ । उदाहरणको रुपमा सरकारले जारी गरेका अध्यादेशहरूलाई देखाइएको छ । ‘वर्तमान गठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न सकेको छैन । यो सरकार देश र जनताको हित प्रतिकूल निरंकुश ढंगले अगाडि बढ्दैछ । संसदलाई छलेर अध्यादेशमार्फत सत्ता सञ्चालन गर्दैछ’ अपानिमा उल्लेख छ ।
सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको पनि एकीकृत समाजवादीको बुझाइ छ । अगाडि भनिएको छ, ‘यसले भ्रष्टाचार नियन्त्रण गर्ने होइन भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काम गरेको छ ।’सरकारले व्यापारीले आफुखुसी मूल्य निर्धारण गर्न पाउने गरी अध्यादेश ल्याएको भनेर पनि विरोध गरिएको छ ।
‘देशमा महंगी अकासिएको छ तर सरकार मूल्य नियन्त्रण गर्ने होइन व्यापारीले आफुखुसी मूल्य निर्धारण गर्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर दलाल व्यापारीको पक्षमा उभिएको छ । यसले किसानका समस्या समाधान गर्ने होइन भूमाफियाले हदभन्दा बढी जमिन प्लटिङ गरेर बेच्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर जग्गा दलाल र भूमाफियाको हितमा काम गर्दैछ’ अपानिमा भनिएको छ ।
सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसकेको टिप्पणी पनि छ । सरकारका समग्र गतिविधिले आम जनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भएको उल्लेख गरिएको छ ।
सरकारको कामको विरुद्ध प्रतिपक्षी दलहरू एक रहेको भनिएको छ ।‘हाम्रो समेत पहलकदमीमा संसदमा रहेका प्रतिपक्षी दलहरू सरकारका उपर्युक्त गलत क्रियाकलापका विरुद्ध उभिएका छन् र बैठक बसी छलफल गरेर संयुक्त वक्तव्यमार्फत साझा धारणा सार्वजनिक गरेका छन् ।
यही ४ माघमा नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बसेको विपक्षी दलहरूले संसद्मा विभिन्न विषयमा सहकार्य गर्ने गरी संयुक्त वक्तव्य जारी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले घनश्याम भुसालको नेतृत्वमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने
उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौँ : माधव नेपाल
एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा
एकीकृत समाजवादीको कार्यविभाजन : यी हुन् सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज
एकीकृत समाजवादीमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन
नेकपा एकीकृत समाजवादीको बैठक आज सकिँदै