काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को कार्यसमितिमा सदस्य मनोनयन प्रक्रियालाई लिएर विवाद भएको छ ।टानका अध्यक्ष सागर पाण्डेले कार्यसमितिको सहमति र माइन्युटमा अभिलेखीकरण नगरी मनोनित सदस्यहरूको शपथ ग्रहण गराएको भन्दै विवाद भएको हो ।
गत भदौमा आयोजित निर्वाचनमा माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डे कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका उम्मेदवारलाई हराउँदै अध्यक्ष चुनिएका थिए ।
उनले हालै विष्णु थापा, राजेन्द्र अमगाईं, नकुल देवकोटा, विष्णु बराकोटी र बासु रिमाल लगायतलाई टान सदस्यमा मनोनित गरेका थिए । एक महिला मनोनित हुन भने बाँकी छ ।टानको विधानमा अध्यक्षले ६ सदस्य मनोनित गर्न पाउने व्यवस्था छ । यसरी मनोनित गर्दा प्रत्येक प्रदेश अनुसार प्रतिनिधित्व हुनुपर्ने उल्लेख छ ।
तर टानका सहकोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाले अध्यक्ष पाण्डेले स्थापित विधि र प्रक्रियालाई बेवास्ता गर्दै मनोनित सदस्यहरूको शपथ ग्रहण गराएको आरोप लगाए ।‘टानको परम्परा र विधानमा आधारित प्रक्रियाअनुसार, मनोनित सदस्यहरूको नाम कार्यसमितिमा छलफल गरी सर्वसम्मतिले अनुमोदन गरेपछि मात्र माइन्युटमा अभिलेख गर्ने र त्यसपछि शपथ ग्रहण गराउने व्यवस्था छ । तर, अध्यक्षबाट एकलौटी निर्णय भएपछि वरिष्ठ उपाध्यक्षसहित ११ जना सदस्यहरूले अध्यक्षको कदमको विरोध गरेका छौं ।’
के भन्छन् अध्यक्ष पाण्डे ?
टान अध्यक्ष पाण्डेले भने नियुक्ति अघि अर्को खेमाको नेतृत्वसँग छलफल समेत गरेको बताए । आफूले मनोनित गर्नेहरुको नाम मागेको तर दिन नसकेको जिकिर गरे ।
‘म निरन्तर छलफलमा छु । कर्माजीले तीन जना सदस्य हामीलाई चाहिन्छ भन्नुभयो । मैले तीन होइन, दुई जनाको नाम दिनुस् भनें । त्यो पनि दिन सक्नु भएन । त्यसपछि मैले एकजना महिला सदस्य बाँकी रहेर अरु मनोनित गरें,’ अध्यक्ष पाण्डेले भने ।
विधानमा आफूलाई सदस्य मनोनित गर्ने अधिकार भए पनि आफू सबै पक्षसँग समन्वय गरेरै अघि बढ्न खोजिरहेको उनले बताए । धेरै कम्पनीहरु गण्डकी र बागमती प्रदेश अन्तर्गत दर्ता भएकाले सबै प्रदेशको प्रतिनिधित्व हुने गरी मनोनित गर्ने अवस्था भने नरहेको पाण्डेले जिकिर गरे ।
सहकोषाध्यक्ष शेर्पाले सबै मिलेर संस्थाको हितका लागि सहकार्य गर्नुपर्ने बेला अध्यक्ष पाण्डेले अर्को समूहबाट निर्वाचित सदस्यहरूप्रति पूर्वाग्रह देखाएको आरोप लगाए । ‘मनोनित सदस्यहरूको क्षमता र योग्यताप्रति कुनै प्रश्न छैन, तर विधि–प्रक्रिया मिच्दा सहकार्यको वातावरण बिथोलिने हो कि भन्ने चिन्ता छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टानको अध्यक्षमा माओवादी केन्द्रनिकट सागर पाण्डे विजयी