काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पाँचखाल नगरमा सञ्चालित बृहत् पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आउँदो माघ मसान्तभित्र पाँचखालका ६ हजार परिवारको साढे ३१ हजार नागरिकले घरघरमा पानी पाउने आयोजनाले जनाएको छ ।
निर्माणाधीन उक्त खानेपानी आयोजनाको भौतिकतर्फ करिब ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको मर्मत एवं पुनर्निर्माण गरिएपछि हाल पाँचखाल–९ डाँडागाउँस्थित पानी प्रशोधन केन्द्रमा सुनकोशी नदीको ल्याइएको छ । ३९ लाख लिटर पानी प्रशोधनको क्षमता रहेको केन्द्रसँगै रहेको ‘ओभरहेड ट्याङ्की’मा समेत पानी जम्मा गर्न थालिएको उपभोक्ता समितिले जनाएको छ ।
आयोजनाका अनुसार ८४ लिटर प्रतिसेकेण्डको दर भए पनि यतिखेर हाल ४२ लिटर प्रतिसेकेण्डका दरले पानी ल्याइएको समितिका अध्यक्ष कुमार लामिछानेले बताए । उनका अनुसार उपभोक्ताका घरमा पानी पठाउने बेलासम्म पूर्ण क्षमतामा पानी ल्याइनेछ । उपभोक्ता समितिले गत असोज २३ गते पहिलो चरणमा खानेपानी दिलाउने योजना बाढीपहिरोले विफल बनाइदिएको हो ।
बाढीपहिरोले आयोजनाको मुहान क्षेत्रमा डुबान गर्नुका साथै करिब ७५ मिटर घेरा पर्खाल भत्काएर लेदो जमेको थियो । ४८ स्थानमा वितरण पाइप तथा केही संरचनामा क्षति पुगेको आयोजनाले जनाएको छ ।
आयोजनाका परामर्शदाता अशोक अधिकारीका अनुसार आयोजनालाई एक करोड ७० लाख क्षति पुगेको थियो । मुहानका मुख्यलगायत कलेक्सन ट्याङ्की तथा उक्त क्षेत्रमा जमेको लेदो सफाइ गरिएको र अन्य भौतिक क्षति मर्मत गरिएको छ । २० वर्षसम्म नगरको जनसङ्ख्या प्रक्षेपण गरी आयोजना डिजाइन गरिएको हो ।
आयोजनाद्वारा माघको अन्त्यसम्ममा घरघरमा धारा पुर्याउनेगरी हाल तीव्रगतिमा काम भइरहेको लामिछानेले बताए । उनका अनुसार पाँच सय घरमा धारा जडान बाँकी छ । दातृ निकायले गत डिसेम्बर ३१ मा समयावधि सकिए पनि विपद्का कारण तीन महिना समय थपेको लामिछानेले बताए । यस्तै, नगर विकास कोषले पनि सोही समयावधिसम्ममा काम सक्न भनेको जनाइएको छ ।
प्रतिघण्टा तीन लाख दुई हजार चार सय पानी तान्न सहज ढङ्गबाट सकिने र आयोजनाको लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्न सकिने प्रमाणित भएको लामिछानेले बताए । लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो ।
यस्तै, आयोजनाअन्तर्गत सुनकोशी नदी किनारमा ६ वटा इनार, चार–चार लाख लिटर क्षमताको दुई पानी संकलन ट्याङ्की, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्याङ्की, १० नयाँ वितरण ट्याङ्की, ६ ब्रेक प्रेसर ट्याङ्की तथा १५ वटा पालेघर निर्माण सम्पन्न भएको छ । पाँचवटा जेनेरेटर राख्ने घर, ट्याङ्की वरपर पर्खाल तथा तारबार लगाउने, ६ किलोमिटर पानीको मुख्य प्रसारण लाइन, ३७ किलोमिटर शाखा प्रसारण लाइनमध्ये ३५ किलोमिटर, दुई सय ३० किलोमिटर वितरण पाइप लाइनमध्ये हालसम्म दुई सय २० किलोमिटर पाइप लाइनको काम सम्पन्न भएको जनाइएको छ ।
कुल ६ हजार ३७ धारामध्ये हालसम्म तीन हजार पाँच सय धारा जडान, उपभोक्ता समिति भवन, पानी प्रशोधन केन्द्रका सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ । उनका अनुसार हाल आयोजनाको २४ पानी तान्ने पम्प जडान, सात बिजुलीको ट्रान्सफर्मर जडान, खोलाबाट पानी संकलन केन्द्रसम्मको हाइटेन्सन लाइन विस्तारको काम सम्पन्न भइसकेको छ ।
सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच २०७७ असार १५ गते अढाई वर्ष अर्थात् २०७९ माघमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको आयोजनाको काम कोरोना संक्रमण, मेलम्चीमा आएको बाढीले आयोजनाको पूर्वाधारमा क्षति पुर्याएका कारण लम्बिएको हो । यी कारणले पहिलोपटक १० र दोस्रोपटक चार महिना गरी आयोजना सम्पन्न गर्न १४ महिनाको समय थप गरिएको थियो ।
पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० विमीरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको हो । एक अर्ब ४७ करोड ४३ लाख ६० हजारको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिकाको वडा नं २, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का ६ हजार ३७ घरपरिवारका हाललाई ३१ हजार चार सय १५ नागरिक लाभान्वित हनेछन् । यसमध्ये दैनिक प्रतिव्यक्ति एक सय ९२ दशमलव ०५ लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको योजनामा उल्लेख छ । आगामी सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुने समेत प्रक्षेपण गरिएको छ ।
आयोजनाका लागि सम्झौताअनुसार दातृ निकाय, सरकारको बजेटसँगै कुल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख पाँच हजार तीन सय परिवारले प्रतिपरिवार १८ हजारका दरले रकम बुझाएका छन् । यस्तै, आयोजनाका लागि सम्झौताअनुसार दुई सय १४ उपभोक्ताले सहकारी संस्थाबाट ऋण लिई खानेपानीका लागि रकम बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनकोशी र नारायणीमा जल यातायात सुरु गरिने
सुनकोशीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला