दीपेन्द्रको उमेर पच्चीस वर्ष भएपछि वि.सं. ०५३ देखि उनको नाममा प्राप्त हुने एक लाख रुपैयाँ ढुकुटी विभागबाट सोझै दीपेन्द्रको सचिवालयमा जाने व्यवस्था मिलाइएको थियो । ०५३ को आर्थिक वर्षारम्भ (साउन) देखि दीपेन्द्रको सचिवालयमा नगद एक लाख महिनैपिच्छे पुग्न थालेको भए पनि उनले आफ्नो पकेट खर्चबाहेक दाल, चामल, तरकारी र सचिवालयका कर्मचारीको तलबसमेत सोही रकमबाट पुऱ्याउन बडामहारानी ऐश्वर्यको ‘हुकुम’ भएको थियो । ऐश्वर्यको ‘हुकुम’ त्यसताक इस्पातको अक्षरबराबर मानिन्थ्यो ।
मासिक एक लाख रुपैयाँ प्राप्त हुन थालेपछि दीपेन्द्रले केही सहज महसुस गरेका थिए । साथीहरूलाई घरमा बोलाएर खुवाउने, रेस्टुरेन्ट जान र कहिलेकाहीँ त्रिभुवन सदनमा ‘गेट टुगेदर’सम्म गर्न पनि दीपेन्द्रलाई सजिलो हुन थालेको थियो । दीपेन्द्रलाई खानेकुराहरूमा मःम खुब मनपथ्र्यो, भेनिला आइसक्रिम र पिज्जा पनि उनका प्रिय भोजन हुन् । नेवारी मदिरा (ऐला) पिउन पाउँदा दीपेन्द्र निकै प्रसन्न हुन्थे । वास्तवमा दीपेन्द्रको प्रिय पेय पदार्थमा ‘ऐला’ पर्दथ्यो ।
विभिन्न क्षेत्रका मानिससँग भेटघाट, अन्तरक्रिया र छलफलमा दीपेन्द्रको विशेष रुचि थियो । यसक्रममा कहिलेकाहीँ घरबाहिरका भोजभतेर र भेलाहरूमा पनि दीपेन्द्र सहभागी हुन पुग्दथे । एकपटक प्रसिद्ध उद्यमी पियूषबहादुर अमात्यका भाइ हीरेन्द्र अमात्यका घरमा रोयल गल्फका पदाधिकारीहरूसँगको रात्रिभोजमा सामेल हुन पुगेका दीपेन्द्र त्यहाँ सहभागीहरूसँग विभिन्न विषयमा छलफल गर्दै थिए । सहभागीमध्ये एकजना ब्राह्मण बेलाबेला संस्कृत शब्द र वाक्यांशको समेत प्रयोग गरेर विद्वता प्रदर्शन गरिरहेको देखेपछि युवराज दीपेन्द्रलाई झोँक चलेछ । उनले संस्कृतको एउटा श्लोक ती ब्राह्मणलाई सुनाउँदै त्यसको अर्थ मागे, ब्राह्मणले अर्थ लगाउन सकेनन् । त्यसपछि थप दुई/चारवटा श्लोक सुनाएर दीपेन्द्र अर्को विषयतर्फ लागे । ती ब्राह्मणको मुख त्यसपछि खुल्नै सकेन, बन्दको बन्दै रह्यो ।
दीपेन्द्रले भूगोलमा स्नातकोत्तर गरिसकेपछि विद्यावारिधिको तयारी गरेका र भाइवासम्म पुगेका थिए । इन्फर्मेसन टेक्नोलोजी (आईटी)मा दीपेन्द्रको विशेष अभिरुचि थियो । उनले आफ्नो कार्यालय र दरबारको सचिवालयमा कम्प्युटर नेटवर्किङ गरी बूढा कर्मचारीलाई कम्प्युटरसम्बन्धी तालिम पनि दिलाए । आफ्ना पिता राजा वीरेन्द्रलाई कसैले जाहेरी गर्नुपर्दासमेत कम्प्युटरमार्फत नै गर्ने व्यवस्था उनले मिलाएका थिए ।
दरबारका कर्मचारीलाई तालिम दिएर दक्ष पनि बनाइयो । तर, कर्मचारीहरू नयाँ ढङ्गले काम गर्न इच्छुक र उत्सुक भएनन् । दरबारका उच्चपदस्थ कर्मचारीले दरबारको काम कम्प्युटरमार्फत गर्दा जोखिमपूर्ण हुनसक्नेतर्फ राजा वीरेन्द्रको ध्यानाकर्षण गराएपछि राजा स्वयम् पनि युवराजको कामप्रति सकारात्मक हुन सकेनन् र अन्ततः दीपेन्द्रको सपना असफल हुन पुग्यो । तथापि मालपोत कार्यालयलाई कम्प्युटराइज्ड गर्नमा दीपेन्द्रले नै जोड लगाएका थिए । फुर्सदको समयमा दीपेन्द्र आफ्नो धेरैजसो समय कम्प्युटरमा नै बिताउने गर्दथे ।
विभिन्न क्षेत्रका मानिससँग अन्तरक्रिया एवम् छलफलमा अभिरुचि राख्ने भएकाले दीपेन्द्रको सचिवालयमा सौजन्यकुमार सुल्प्या प्रमुख भएर गएपछि उनले युवराजको इच्छाअनुरूप धेरै कुराको व्यवस्था गरिदिएका थिए । जनतासँग घुलमिल होस् भन्नेमा ध्यान दिँदै सुल्प्याले दीपेन्द्र कुनै विशेष कार्यक्रमहरूमा जाँदा पनि आयोजकहरूसँगै बसेर खाना खाने व्यवस्था मिलाइदिन्थे ।
कीर्तिपुर, जहाँ राजपरिवारप्रति नकारात्मक धारणा राख्नेहरूको बाहुल्य रहेको ठानिथ्यो, त्यहाँ एकपटक वृक्षारोपणको कार्यक्रम आयोजना गरियो र दीपेन्द्रलाई मुख्य अतिथिका रूपमा सहभागी गराइयो । कीर्तिपुरका वडाध्यक्ष तथा नगर सदस्यहरूसँग सामूहिक तस्बिर खिच्ने र छलफल गर्ने गरेपछि कीर्तिपुरमा त्यसले निकै ठूलो बदलाव ल्याएको थियो ।
दीपेन्द्रसँगै बसेको तस्बिर कीर्तिपुरका स्थानीय नेताहरूले आफ्नो घरको बेडरुम तथा बैठकमा सगौरव सजाउन थालेका थिए । सुल्प्याले युवराज दीपेन्द्रलाई सानोठिमीमा पैदल यात्रा गराएका थिए । भक्तपुरको पैदल यात्रामा दीपेन्द्रसँगै नारायणमान बिजुक्छेलाई समेत सरिक गराउन सक्नुलाई सुल्प्या आफ्नो सफलता ठान्थे । यस्तै कारणहरूले दीपेन्द्र पछिल्लो समयमा जनतामाझ निकै लोकप्रिय हुँदै गएका थिए ।
दीपेन्द्रमा उट्पट्याङपूर्ण शैली र चरित्र पनि थियो । बेलायतको इटन कलेजमा पढ्दा उनी समय–समयमा साथीहरूसँग रेस्टुरेन्ट जान र घुमफिर गर्न मन पराउँथे । त्यस्तै मदिरा सेवनमा पनि उनको लत बसेको थियो । तर, सधैँ मदिरा सेवन गर्न पैसा पुग्दैनथ्यो । एक दिन साथीहरूसँग लन्डनको एउटा रेस्टुरेन्टमा मदिरा सेवन गर्न पुगेका दीपेन्द्रसँग एक भारतीय सहपाठीसँग कुरैकुरामा ‘बाजी’ राख्नुपर्ने अवस्था आइदियो ।
एक बोतल ह्विस्की बोतलमा मुख लगाएर एकैपटकमा जसले रित्याउन सक्छ उसलाई एक सय पाउन्ड रकम दिने प्रस्ताव ती भारतीय युवाले साथीहरूसँग राखे । प्रस्ताव सुनेरै धेरैको कम्पन छुट्यो, तर ‘भावी राजा’ दीपेन्द्रले आफूलाई निकै ठूलो चुनौती दिइएको ठाने र म सक्छु भन्दै अघि सरे । हातमा एक बोतल ब्ल्याकलेवल ह्विस्की लिएर तान्न थालेका दीपेन्द्रले बोतल रित्तिएपछि मात्र सास फेरे । यो दृश्य देख्नेहरू सबै चकित परे, ती भारतीय युवा भने सय पाउन्ड तिर्न बाध्य भए ।
यसरी कसैले चुनौती दियो भने दीपेन्द्र जस्तोसुकै जोखिम उठाउन पनि तयार हुन्थे । दीपेन्द्र कतिसम्म जोखिम मोल्न खोज्थे भन्ने कुराका अनेक दृष्टान्त छन् । तीमध्ये दरबारबाट बाहिर निस्कन उनले अपनाउने तरिका पनि एउटा हो । आमा (बडामहारानी ऐश्वर्य) सँगको खटपटका कारण दीपेन्द्रमाथिको निगरानी बढाइएको थियो र उनलाई दरबारबाट निस्केर बाहिर जान कडा बन्देज थियो । तर, उनी एक ठाउँमा गुम्सिएर बस्ने स्वभाव–चरित्रका मानिस थिएनन् । बाहिर निस्कनाका लागि दीपेन्द्रले टुकुचा (खोला) लाई प्रयोग गर्ने गर्दथे ।
नारायणहिटी राजदरबारको मध्यभाग भएर टुकुचा बगेको छ र धेरै ठाउँमा संरचनाहरूले छोपेको टुकुचा खोलालाई कतै–कतै मात्र खुला देख्न सकिन्छ । टुकुचा पहिले खोला हो, वर्षात्को समयमा यो साँच्चै खोला नै हो कि भन्ने अनुभूति पनि हुन्छ । तर, अरूबेला टुकुचा सधैँ ढलको रूपमा देखिन्छ । कसै–कसैले ढलमतिसमेत भन्ने गरेको टुकुचाभित्र राति दीपेन्द्र पस्थे र सुरुङको बाटो हुँदै उनी कहिले लैनचौर त कहिले कमलादीपट्टि निस्कने गर्दथे ।
यस कुराको जानकारी दीपेन्द्रको सचिवालयका खास–खास कर्मचारी र उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीबाहेक अरूलाई कहिल्यै हुन सकेन । त्यसरी टुकुचाबाट राति बाहिरिएका दीपेन्द्र रातभरि जहाँ–जहाँ पुगे पनि बिहान उज्यालो हुनुअगावै आफ्नो निवासमा पुगिसकेका हुन्थे ।
दीपेन्द्रले उठाएको अर्को एउटा जोखिम पनि दरबारका कर्मचारीहरूबीच चर्चा हुने गर्दथ्यो । दीपेन्द्र दोहोरो प्रेममा परेको विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जानकारीमा आइसकेको छ । दुईमध्ये दिवानीप्रतिको उनको क्रेज बेग्लै थियो । दिवानी पनि दीपेन्द्रको खुसीका लागि कुनै कसर बाँकी राख्दिनथिन् । प्रियासँगको बाल्यकालदेखिको प्रेम टुट्नै नसक्ने गरी बाँधिएको अवस्था हुँदाहुँदै पनि दिवानीसमेत विभिन्न कारणवश दीपेन्द्रको धड्कन बनेकी थिइन् ।
काठमाडौंमा रहँदा सामान्यतया सातामा एकपटक दिवानी नारायणहिटीस्थित दीपेन्द्रको शयनकक्षमा रात बिताउने गर्दथिन् । दीपेन्द्रका अङ्गरक्षकले यस कार्यको संयोजन गर्दथे । यस कुराको जानकारी बडामहारानी ऐश्वर्यलाई भएको हुन्थ्यो भने दरबारमा धेरैअघि नै अप्रिय घटना भइसकेको हुनसक्थ्यो । रातमा कुशलतापूर्वक संयोजन गरिने उक्त क्रियाकलापबारे राजारानी दुवैले कहिल्यै थाहा पाउन सकेनन् । क्रमशः
प्रतिक्रिया दिनुहोस