महिलाहरूलाई हेर्नबाट रोक्न तालिवानले लगायो झ्याल निर्माणमा प्रतिबन्ध

सफल खबर संवाददाता

सोमबार, १५ पुस २०८१, १५ : ४७
महिलाहरूलाई हेर्नबाट रोक्न तालिवानले लगायो झ्याल निर्माणमा प्रतिबन्ध

काठमाडौं। तालिवानका सर्वोच्च नेताले आदेश जारी गर्दै घरमा झ्यालहरूको निर्माणमा रोक लगाएका छन् । महिलाहरूले काम गर्ने वा भेला हुने स्थानहरू जस्तै; आँगन, भान्सा र इनारजस्ता ठाउँहरू देख्न मिल्ने गरी झ्याल निर्माणमा प्रतिबन्ध लगाइएको हो ।

मिडिया रिपोर्टहरूका अनुसार, तालिवान सरकारका प्रवक्ताद्वारा शनिबार राति सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ भवनमा त्यस्ता झ्यालहरू निर्माण गर्न पाइने छैन, जसले आँगन, भान्सा, छिमेकीको इनार वा महिलाहरूले सामान्यतः प्रयोग गर्ने अन्य स्थानहरू’ देख्न सकून्।

सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदद्वारा एक्समा पोस्ट गरिएको निर्देशन अनुसार, भान्सा, आँगनमा काम गर्ने महिलाहरू वा इनारमा पानी भरिरहेकी महिलाहरूलाई हेर्नु ‘अश्लील कार्य’ मानिनेछ ।

नगरपालिकाका अधिकारीहरू र अन्य सम्बन्धित विभागहरूलाई निर्माण स्थलहरूको अनुगमन गर्न निर्देशन दिइएको छ, ताकि यस्तो कुनै पनि झ्याल नबनून् जसले छिमेकीको घर देख्न सकियोस्।

जहाँ यस्ता झ्यालहरू पहिलेदेखि छन्, त्यहाँ सम्पत्तिका मालिकहरूलाई छिमेकीलाई असुविधा नहोस् भनेर पर्खाल बनाउने वा झ्यालहरू ब्लक गर्न प्रोत्साहन गरिनेछ। अगस्ट २०२१ मा तालिवान सत्तामा आएयता देशमा महिलाहरूलाई सार्वजनिक स्थानबाट क्रमिक रूपमा हटाइएको छ।

तालिवान अधिकारीहरूले बालिकाहरूको प्राथमिक शिक्षापछि शिक्षा प्राप्तिमा प्रतिबन्ध लगाएका छन्, रोजगारका अवसरहरू बन्द गरेका छन् । पार्क र अन्य सार्वजनिक स्थानहरूमा उनीहरूको पहुँचमा रोक लगाएका छन्।

मिडिया रिपोर्टहरू अनुसार, हालै महिलाहरूलाई सार्वजनिक रूपमा गीत गाउन वा कविता वाचन गर्न पनि रोकिएको छ। यस कानूनले महिलाहरूलाई घरबाहिर आफ्ना आवाज र शरीरलाई ‘छोप्न’ निर्देशन दिन्छ।

केही स्थानीय रेडियो र टेलिभिजन च्यानलहरूले पनि महिलाहरूका आवाजको प्रसारण बन्द गरिसकेका छन्। तालिवान प्रशासनले दाबी गरेको छ कि इस्लामिक कानूनले अफगान पुरुष र महिलाका अधिकारको ‘ग्यारेन्टी’ गरेको छ । 

प्रतिक्रिया दिनुहोस