काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाइने बताएका छन् । शुक्रबार गृह मन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । ‘जसले संविधान र कानुन बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने हो । उसले नागरिकता पाउनै पर्छ । तर, नागरिकता प्राप्त गर्न नहुने मान्छेले नागरिकता पाउने अवस्था बन्नुहुँदैन । यी दुई वटा कुरामा स्पष्ट छौँ,’ उनले भने।
नागरिकता निकै संवेदनशील विषय भएको भन्दै यसलाई गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ छ । ‘मानिसहरूले सहज र सरल रूपमा नागरिकता नपाएको, संविधान र कानुनले नागरिकता पाउने कुराको ग्यारेन्टी गरेको छ,’ उनले भने, ‘तर, प्रक्रियागत झमेलाका कारणले नागरिकता नपाएको स्थिति र सम्मानित सर्वोच्च अदालतबाट पटक पटक फैसला भएका छन् । पटक पटक निर्देशन दिने काम भएका छन् । यी सबै कुरालाई मध्यनजर गरेर नागरिकता प्राप्तमा देखिएका समस्या समाधान गर्न सरकार अगाडि बढेको छ ।’
समितिले झण्डै ३ महिनामा सबै कुराको अध्ययन गरेर अहिलेसम्मका कार्यदलका प्रतिवेदन, अदालतका फैसला, हाम्रो मौजुदा कानुनी व्यवस्थाहरू, विभिन्न जिल्ला प्रशासनमा देखिएका जटिलतालाई अध्ययन गरेको छ । गृहमन्त्री लेखकले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरेर कार्यान्वयनमा लैजाने बताए । ‘हामी प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गर्छौँ । कहाँ के समस्या औँल्याउनु भएको छ ? समाधानका उपाय के देखाउनु भएको छ । यसको के निष्कर्ष उहाँहरूले दिनुभएको छ? यो कुरालाई अध्ययन गरेर थप आवश्यक काम हामी गर्छौँ’ उनले भने ।
गृहमन्त्री लेखकले प्रतिवेदनमा नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता पाउन सहज हुने लगायतका सुझाव रहेको बताए । गृहमन्त्री बनेपछि लेखकले नागरिकता प्राप्तमा देखिएको जटिलताको गाँठो फुकाउन गम्भीर थिए । सोही अनुसार गत भदौको ३१ मा गृह मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डेको नेतृत्वमा उक्त समिति गठन भएको थियो ।
पाण्डे नेतृत्वको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, कानुन मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका प्रतिनिधि र नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव सदस्य थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ पुस २०८१, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्ववियु चुनावको मतगणना नसकिएसम्म सुरक्षा व्यवस्था गर्नू : गृह मन्त्रालय
२०८२ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)
पाथीभरा केवलकार विवादमा गृह मन्त्रालयद्वारा फेरि वार्ता आह्वान
‘दलित डेस्क’ स्थापना गर्न गृह मन्त्रालयद्वारा पत्राचार
पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्या हाम्रो हाइन्ः गृह मन्त्रालय
दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय