कावासोतीमा नमुना सदरमुकाम निर्माण क्षेत्रका रुख काट्न स्वीकृति

रासस

शुक्रबार, १२ पुस २०८१, १४ : ५३
कावासोतीमा नमुना सदरमुकाम निर्माण क्षेत्रका रुख काट्न स्वीकृति

काठमाडौँ । शिलान्यास भएको ५ वर्षपछि पूर्वी नवलपरासीको कावासोतीमा नमुना सदरमुकाम निर्माण क्षेत्रमा रुख कटान स्वीकृत भएको छ । नमुना सदरमुकाम निर्माण स्थलमा पर्ने ६ सय ४२ वटा रुख काट्नका लागि मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले स्वीकृति दिएको हो ।

सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले जिल्ला प्रशासन कार्यालयसहित दुई वटा भवन निमार्णको ठेक्का भइसकेको छ । भवन ठेक्का पाएको चौधरी कन्स्ट्रक्सन रौतहटले रुख कटान नहुँदा काम अगाडि बढाउन पाएको थिएन । रुख कटानको अनुमति पाएपछि वर्षौंदेखि रोकिएको नमुना सदरमुकाम निर्माणको कामले तीव्रता पाउने आशा गरिएको छ ।

वन विभागमार्फत मन्त्रिपरिषद्को बैठकले रुख कटानको अनुमति दिएको भन्ने सूचनाप्राप्त गरेको र लिखित रूपमा रुख कटानको आदेश जिल्लामा पाएपछि काम सुरु गर्ने जिल्ला डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताए । यस क्षेत्रमा साना ९० वटा र ठूला रुख ५ सय ५२ गरेर ६ सय ४२ वटा रुख काटिने छ ।

सदरमुकामभित्र करिब ६ किलोमिटर सडक निर्माणको काम भएको छ । तर सडकमा नाली, फुटपाथ, पार्क र साइकल रुट निर्माणको काम अझै बाँकी नै छ । १० करोड ७७ लागतमा ग्राभेल सडक निर्माण गर्ने कामबाहेक अन्य संरचना निर्माण भएको छैन ।

डीपीआर अनुसार रुख कटान गर्दा नवलपुर क्षेत्रमा रहेका लोपोन्मुख गिद्धको बासस्थान लोप हुने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । नमुना सदरमुकाम क्षेत्रमा जिल्ला प्रशासन, शिक्षा, सरकारी वकिल, जिल्ला अदालत, कोष तथा लेखा नियन्त्रक, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, जिल्ला समन्वय समिति, निर्वाचन, ट्राफिक, जिल्ला करदाता कार्यालय, हुलाक, पुनर्निर्माण प्राधिकरण, सुन्तला जोन र फलफूल जोन र जिल्ला कारागारसहित २९ कार्यालय रहने गरेर डिजाइन तयार पारिएको छ ।

संघ, प्रदेश र स्थानीय तहले आफ्नो मातहतको कार्यालय निर्माण गर्नेछन् । सदरमुकाम क्षेत्रमा कार्यालयबाहेक ५ हजार मानिस अटाउने अत्याधुनिक सभाहल, २५ हजार दर्शकले खेल हेर्न सक्ने फुटबल मैदान, ग्रिनपार्क, कभर्ड हल निर्माण गर्ने लक्ष्य छ ।

कावासोती नगरपालिका-३ मा रहेको १ सय ८६ बिघा ज्योतिकुञ्ज सामुदायिक वन क्षेत्रको जग्गा नेपाल सरकारले आफूमातहत ल्याएको छ ।२०७६ वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । डीपीआरअनुसार एकीकृत नमुना सदरमुकाम बनाउन ३३ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस