अजरबैजान एयरलाइन्सको जहाज रुसले खसालेको आरोप

सफल खबर संवाददाता

शुक्रबार, १२ पुस २०८१, १४ : २४
अजरबैजान एयरलाइन्सको जहाज रुसले खसालेको आरोप

काठमाडौँ । ३८ जनाको ज्यान जानेगरी भएको अजरबैजान एयरलाइन्सको जहाज दुर्घटनामा रुसको हात रहेको आरोप लागेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले अजरबैजान एयरलाइन्सको जहाज रुसको एयर(डिफेन्स सिस्टमले खसालेको दाबी गरेको हो।

दुर्घटनाको प्रारम्भिक छानबिनबारे जानकार चार अधिकारीलाई उधृत गर्दै रोयटर्सले यस्तो खुलासा गरेको हो। गत बुधबार ६७ यात्रु लिएर अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको फ्लाइट जे २-८२४३ कजाकिस्तानको अक्ताउमा खसेको थियो।

दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो भने २९ जनाको उद्धार गरिएको थियो। रोयटर्सको समाचारमा एक अजरबैजनी स्रोतलाई उधृत गर्दै उक्त जहाजमा रुसी पन्तसिर-एस एयर डिफेन्स सिस्टमले आक्रमण गरिएको उल्लेख गरिएको छ। अन्य तीन स्रोतले पनि त्यस्तै बताएको समाचारमा जनाइएको छ।

रुसले ड्रोन खसाल्न पनि एयर डिफेन्स सिस्टमको प्रयोग गर्ने गरेको छ। रुसका प्रवक्ता डिमिट्री पेस्कोभले भने अनुसन्धान पूरा नहुँदै यस्तो अनुमान गर्न नहुने टिप्पणी गरेका छन्।

‘अनुसन्धान सकिनुअघि नै अनुमान गर्नु गलत हुन्छ’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस