भरतपुर । महिला यू-१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो ।
आगामी माघ ५ गतेदेखि महिला यू-१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँदैछ । त्यसको तयारीस्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने महिला यू-१९ का प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालले जानकारी दिए । बन्द प्रशिक्षणमा ‘ब्याटिङ, बलिङ, फिटनेस’लाई ध्यान दिइने उनले बताए ।
टोलीका व्यवस्थापक विनोद दासले चितवनको क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको रहेकाले यहाँ प्रशिक्षणको व्यवस्था गरिएको बताए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली टोलीको सफलताको कामना गर्दै प्रशिक्षार्थीलाई महानगरका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताइन् ।
नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहले भरतपुर महानगरपालिकाको प्रयास र क्यानका अध्यक्षको समन्वयमा चितवनमा बन्द प्रशिक्षण गर्न लागिएको बताए । उनले सन् २०२७ मा नेपालमा हुने महिला यु–१९ विश्वकप निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गर्न क्यान सकारात्मक रहेको बताए ।
बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली यही पुस २७ गते प्रतियोगितामा भाग लिन मलेसिया प्रस्थान गर्नेछ । नेपाली टोलीले जनवरी १८, २० र २२ मा क्रमशः बंगलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग स्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ पुस २०८१, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर आजदेखि, नेपालले थाइल्याण्डविरुद्ध खेल्दै