काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुँदैछ ।
जिल्ला प्रहरी कार्यालयले पुस १ गते लामिछानेमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको छ ।
सहकारी ठगीमा लामिछाने माथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै पुस १ गते अदालतले चार दिनको म्याद थपेको थियो । चार दिनको म्याद गत शुक्रबार सकिए पनि शनिबार सार्वजनिक बिदा परेकाले आज अदालतमा मुद्दा दर्ता गर्न लागिएको जनाइएको छ ।
कानुन बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले आजै मुद्धा दर्ता गर्न लागिएको कास्की प्रहरीले जनाएको छ ।
पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोगमा अनुसन्धानका लागि लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो । यसअघि सोही प्रकरणमा असोज ६ गते नेपाल प्रहरीका पूर्वडीआईजी एवं गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि पक्राउ गरिएको थियो।
लामिछाने र जोशीसहित पाँचजना विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारेको छ। प्रहरीले प्रतिवेदनमा ५१ जना प्रतिवादीबाट १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने राय दिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ पुस २०८१, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानन्यायाधीश राउतद्वारा उपभोक्ता अदालतको उद्घाटन
गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर
रवि लामिछानेको सांसद पद निलम्बनविरुद्ध अदालत जाँदै रास्वपा
म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराउँदै प्रहरी
रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
रवि र छविलाई लगियो अदालत