काठमाडौं। हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन शुरू गर्ने तयारी गरेको छ ।उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए ।
उपकरणको कार्य पुसको १० गतेसम्ममा सकिने र त्यस लगत्तैबाट उत्पादन गर्ने तयारीमा रहेको उनले बताए ।
'उद्योगको क्लिनिकल र मेसिन लगायतका उपकरणको मर्मत कार्य अझै भइरहेको छ,' अध्यक्ष भण्डारीले भने, 'हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लगत्तै पुनः सिमेन्ट उत्पादन कार्य शुरू गर्ने अनुमान गरेका थियौं, तर उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन गर्न समय लागेको हो ।'
उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।
उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको उनले बताए । 'हामीसँग कच्चा पदार्थको कुनै अभाव छैन,' अध्यक्ष भण्डारीले भने, 'उद्योगलाई चाहिने करिब ४०० मेट्रिक टन कोइला मौज्दात छ ।'
थप कोइला खरिदको प्रक्रिया अघि बढिसकेकाले कोइलाको समस्या नहुने उनको भनाइ छ । आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो ।
यही भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन शुरू गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए ।
विक्रम संवत् २०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विक्रम संवत् २०४३ देखि सिमेन्ट उत्पादन शुरू गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ पुस २०८१, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा
हेटौँडा सिमेन्ट उद्योगले चैतको तेस्रो सातादेखि पुनः उत्पादन शुरू गर्ने