सुदूरका पहाडी जिल्लामा हिमपात

सफल खबर संवाददाता

सोमबार, २४ मंसिर २०८१, ११ : १०
सुदूरका पहाडी जिल्लामा हिमपात

बैतडी। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । बैतडी र बाजुराका विभिन्न ठाउमा आइतबार रातिदेखि वर्षासँगै हिमपात भएको हो । बैतडीका ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायत उच्च लेकाली स्थानमा हिमपात भएको हो ।

उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए । बैतडीसँगै, डडेल्धुरा, डोटीलगायत पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।

हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुसीयाली छाएको हो ।

प्रतिक्रिया दिनुहोस