मानव-वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको छ : वनमन्त्री शाही

सफल खबर संवाददाता

सोमबार, २४ मंसिर २०८१, ०८ : २०
मानव-वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको छ : वनमन्त्री शाही

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको बताएका छन् । 

पर्सा राष्ट्रिय निकुञ्जको अनुगमन तथा अन्तरक्रिया कार्यक्रमपछि कुरा गर्दै उनले पछिल्लो पटक निकुञ्ज क्षेत्रभित्र रहेका वन्यजन्तु आहार खोज्दै गाउँ बस्तीभित्र छिर्न थालेपछि मानव र वन्यजन्तुको द्वन्द्व बढ्न थालेको बताए ।

“बाघ र जङ्गली हात्तीजस्ता ठूला जनावरलाई बाहिर बस्तीमा नआउने र मान्छेलाई जङ्गलभित्र नजाने व्यवस्था मिलाउन सके मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ”, मन्त्री शाहीले भने । मन्त्रालयले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन प्रयास गरिरहेको उनको भनाइ थियो । 

मन्त्री शाहीले जङ्गल जनावर हिँड्ने बाटो क्षेत्रतिर मानव बस्ती विस्तार हुने थालेपछि समस्या बल्झिँदै जान थालेको उल्लेख गरे । “वन्यजन्तुले क्षति गर्दा पीडित पक्षलाई राहतको व्यवस्था तत्काल गरिनुपर्छ”, उनले भने, “क्षति व्यहोरेका स्थानीयले तत्काल राहत नपाउँदा वन्यजन्तुप्रति आक्रोश र आक्रमण गर्न थालेका छन् ।” निकुञ्ज संरक्षण र क्षेत्रलाई समस्या होइन समृद्धिसँग जोड्न आवश्यक देखिएको मन्त्रीले बताए । 

पर्सा र चितवन राष्ट्रिय निकुञ्ज जोडिएको हुँदा टिकट प्रणालीलाई एकद्वार गर्न आवश्यक देखिएको उल्लेख गर्दै मन्त्री शाहीले चितवन निकुञ्ज भ्रमणमा आएका पर्यटक पर्सा पनि आउने र पर्सा निकुञ्ज घुम्न आएका पर्यटक चितवन निकुञ्ज पनि भ्रमण गर्न सकिने धारणा राखे । उनले भने, “निकुञ्ज पर्यटन क्षेत्रको प्रमुख गन्तव्य भएकाले जल जङ्गल वन्यजन्तु जोगाउन सबैको कर्तव्य हो ।”

वन क्षेत्रभित्र ढलेका र सडेगलेका काठलाई प्रयोगमा ल्याउन र आयात हुने काठलाई रोक्न मन्त्रालयले गृहकार्य गरिरहेको मन्त्री शाहीको भनाइ छ । निकुञ्ज र वन क्षेत्रको समस्या समाधानको निम्ति ऐन नियम संशोधन गर्ने कार्यमा मन्त्रालय लागि रहेको जानकारी गराउँदै मन्त्री शाहीले मन्त्रालय विकासको बाधक हो भन्ने भ्रमको अन्त्य गर्न आफूले काम गरिरहेको बताए ।

“पर्सा राष्ट्रिय निकुञ्जमा देखिएका समस्या र समाधान गर्नुपर्ने कार्यहरू मैले गम्भीरतापूर्वक लिएको छु”, “मन्त्री शाहीले भने, “निकुञ्जका संरक्षण अधिकृत तथा  कर्मचारी राम्रो कामप्रति अझै ध्यान दिनुहोला ।

प्रतिक्रिया दिनुहोस