काठमाडौं। गत साउन ९ गते भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका आफन्तका परिवारले क्षतिपूर्ति नपाएको भन्दै संसदीय समिति गुहारेका छन् ।
विमान दुर्घटनामा आफ्नो छोरी प्रिजा खतिवडा, ज्वाई मनुराज शर्मा र नाति अधिराज शर्मा अर्याललाई गुमाएका सप्तरीको कञ्चनरूप नगरपालिका-७ का प्रकाशकुमार खतिवडाले न्यायका लागि अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
दुर्घटनाको चार महिना बितिसक्दा पनि पीडित परिवारले न्याय पाउन नसकेको र सम्बन्धित निकायले जिम्मेवारी बहन नगरेको भन्दै उनले समितिका सभापति राजकिशोर यादवलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
दुर्घटना भएको चार महिनासम्म पनि सौर्य एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण र प्रभु इन्सुरेन्सले पीडित परिवारको निवेदनको उचित सुनुवाइ नगरेको उनले दाबी गरेका छन् ।
उनले जहाज दुर्घटनाको दोषीहरूलाई कानूनी कारबाही गरिनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरिनुपर्ने र निष्पक्ष आयोग गठनगरी घटनाको पुनः अनुसन्धान गरिनुपर्ने माग गरेका छन् ।
गत साउन ९ गते सौर्यको दर्ता नम्बर ‘९एन–एनएमई’ भएको ‘सीआरजे–२००’ सिरिजको जहाज टेकअफ गर्नासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु थियो । क्याप्टेन मनिषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो । जहाज उडेको २० सेकेन्डमै दाहिनेतर्फ कोल्टिँदै भुइँमा बजारिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १३ : ३५
लेखकबाट थप