छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए

एजेन्सी

शुक्रबार, ०७ मंसिर २०८१, १५ : ३०
छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए

काठमाडौँ । भारतको छत्तीसगढको सुकमा जिल्लाको भेज्जी थाना क्षेत्रमा सुरक्षा बल र नक्सलवादीबीच भिडन्त भएको छ । भिडन्तमा १० नक्सलवादी मारिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सुरक्षा बलले घटनास्थलबाट तीन वटा अटोमेटिक राइफल र अन्य हतियार बरामद गरेको रिपोर्टमा उल्लेख छ ।

शुक्रबार बिहान नक्सलवादीहरूसँग भिडन्त भएको थियो । सिपाहीहरूले धेरै नक्सलवादीहरू ओडिशा हुँदै छत्तीसगढमा प्रवेश गरिरहेको सूचना पाएका थिए । डीआरजीको टोली नक्सलवादीहरूलाई घेरा हाल्न निस्किएको थियो । दुवैतर्फबाट सयौं राउण्ड गोली हानाहान भएको बताइएको छ ।

यो भिडन्त कोराजुगुडा, दन्तेसपुरम, नगरम, भण्डारपदरको जंगल पहाडमा भएको थियो । सेनाले उक्त क्षेत्रमा खोजी अभियान चलाएको थियो। खोजी अभियानका क्रममा नक्सलवादीहरूले सैनिकमाथि आक्रमण गरेका थिए । सैनिकहरूले पनि जवाफी कारबाही गरेका थिए । लामो समयसम्म दुवै पक्षबाट गोली हानाहान भएको थियो ।

यसअघि दक्षिण बस्तर, गरियाबन्द र कांकेरमा पनि सुरक्षा बल र नक्सलवादीबीच भिडन्त भएको थियो। नोभेम्बर १६ मा छत्तीसगढको अबुझमद जंगलमा नक्सल र प्रहरीबीच भिडन्त भएको थियो । यस अवधिमा पाँच नक्सलवादी मारिए । जसमा सुरक्षा बलले ४० लाख रुपैयाँ पुरस्कार राखिएका नक्सलवादी मारिएका रिपोर्टमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस