सरकारले छानबिन गरोस्, दोषी देखिए सबै पद त्याग्छु : पर्यटन मन्त्री पाण्डे

सफल खबर संवाददाता

बुधबार, २८ कार्तिक २०८१, १४ : २२
सरकारले छानबिन गरोस्, दोषी देखिए सबै पद त्याग्छु : पर्यटन मन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आफूमाथि लागेको आरोपबारे सरकार र पार्टीबाट छानबिन गर्न माग गरेका छन् । काँग्रेस सहमहामन्त्रीसमेत रहेका पर्यटन मन्त्री पाण्डेमाथि काँग्रेसकै सांसद राजेन्द्र बजगाईँले करोडौँ घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन् ।

मन्त्री पाण्डेले भने केही मानिसले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताएका छन् । स्वच्छ चरित्र लिएर मन्त्रालयमा आएको र त्यसरी नै बाहिरिन चाहेको भन्दै पाण्डेले भने, ‘पार्टीबाटै निर्वाचित एक जना सांसदले त्यो तहमा ओर्लिएर टिप्पणी गर्ने कुराबाट म आश्चर्यचकित भएको छु ।’

आफ्नो इमान र निष्ठामाथि धावा बोल्ने विरुद्ध कानुनी लडाइँ लड्ने पनि उनले बताए । उनले भने, ‘सरकार र पार्टीलाई मैले केही गरेँ कि भन्ने लाग्छ भने सरकार र पार्टीले ममाथि गहिरो गरी छानबिन गरोस् ।’

मन्त्री पाण्डेले अगाडि भने, ‘मबाट कुनै पनि खालको कमजोरी जानेर/नजानेर त्यो प्रकारको कमजोरी भएको छ भनेदेखि जुनसुकै बेला म सरकारको स्वच्छताका लागि सरकारबाट बाहिरिने, पार्टीको स्वच्छता र पार्टीको आदर्शका लागि पार्टीबाट बाहिरिन पनि हरदम जुनसुकैबखत पनि तयार छु ।’

 

प्रतिक्रिया दिनुहोस