म्याग्दी । रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका-५ खुङखानीका रनबहादुर विकको गोठमा पाँच वटा ‘भोटे’ कुकुर छन् ।
म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आएका म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीका नन्दबहादुर भण्डारीको भेडाबाख्राको सुरक्षा कुकुरले गरेका छन् । ५४ वर्षदेखि भेडापालन गर्दै आएका ६८ वर्षीय भण्डारीले भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि सात वटा ‘भोटे कुकुर’ पालेको बताए । घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने किसानका उदाहरण हुन् ढोरपाटनका रनबहादुर र भगवतीका नन्दबहादुर ।
कुकुर नभएका भेडाबाख्रा, च्याङ्ग्रा, चौँरी, गाई भैँसीको गोठ नै हुँदैनन् । महिनौँसम्म एक्लै जंगलमा बस्ने गोठालाको साथी बनेका कुकुरले चितुवा, ब्याँसो, भालु, स्याललगायत जंगली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन् । राति, साँझ र बिहान गोठको वरपर रुगेर पहरा दिने कुकुरले जंगली जनावर र चोर आएको थाहा पाएपछि चर्को स्वरमा भुकेर संकेत गर्ने लखेट्ने तथा भिडेर किसानलाई सहयोग गर्ने अन्नपूर्ण गाउँपालिका-१ दोवाका नेत्रप्रसाद राम्जालीले बताए । “कुकुरबिनाको गोठालाको कल्पना नै गर्न सकिँदैन,” ३२ वर्षदेखि गोठाला गर्दै आएका ७२ वर्षीय रनबहादुरले भने, “पशुहरू जंगलमा चराउन लैजाँदा उनीहरूको पछिपछि डुल्ने कुकुरले अप्ठ्यारो भिरमा जान दिँदैनन् । साँझ पर्न लाग्यो भने खेदेर गोठमा फर्काउँछ । चितुवा, ब्वाँसो, स्याल देखेपछि भुकेर सूचना दिन्छ । आक्रमण गर्न आउन जंगली जनावरलाई भगाउँछन् ।”
कुकुरको सहयोगविना गोठाला एक्लैले सयौँको सङ्ख्यामा रहेका गाई, भैँसी, भेडाबाख्रा, च्याङ्ग्राको रेखदेख गर्न नसक्ने भएकाले कुकुरलाई गोठालाको बफादार सहयोगी मान्ने गरिएको रनबहादुरले बताए । म्याग्दी, मुस्ताङ र ढोरपाटनका गोठालाहरूले तीस किलोग्रामभन्दा बढी तौल हुने, अग्ला र ठूला शरीर भएका देख्दै डरलाग्दा कम्तीमा दुई वटा भोटे कुकुर पालेका हुन्छन् । यस्ता कुकुरको छाउरालाई नै प्रतिगोटा रु. १० हजारभन्दा बढी मूल्य पर्छ । आफ्ना मालिकलाई माया गर्ने, जंगली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने विशेषता भएका कुकुरले गोठालाको दैनिकीलाई सजिलो र सुरक्षित बनाएको कृषक राम्जालीले बताए ।
बिहान र बेलुका पीठोको खोलेका साथै भेडाको दूध र मासु पनि गोठमा पालिने कुकुरका खाना हुन् । एक ठाउँमा दशदेखि १५ दिन गोठ राखेर वरपरका खर्क र जंगलको घाँस खुवाएपछि अर्को ठाउँमा सार्ने चलन छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लाभर दुई सयभन्दा बढी गोठमा २० हजारको सङ्ख्यामा बरुवाल र भ्याङलुङ जातका भेडा पालिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १५ कार्तिक २०८१, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालगन्जमा सामुदायिक कुकुरको बन्ध्याकरण शुरू, विद्युत् नियमित नहुँदा समस्या
बाँदर धपाउन किसानलाई कुकुर वितरण