काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १६ औँ जन्मजयन्ती बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । देवकोटाको १ सय १६ औँ जन्मजयन्तीका अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रहेको उहाको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको थियो ।
महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
देवकोटाको जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य(पद्य÷काव्य) बिभागले देवकोटा सङ्ग्रहालयमा कविता बाचन कार्यक्रमको आयोजना गरेको थियो । कविता वाचन कार्यक्रममा कविहरुले मुलुकको राजनीतिक परिस्थितिका साथै बिभिन्न प्रसंगका साथ कविता वाचन गरेका थिए ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । २०१६ सालमा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउनु भएको थियो ।
देवकोटाको घरलाई सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रूपमा स्थापित गरेको छ । नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका देवकोटाको २०१६ साल भदौ २९ गते निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ कार्तिक २०८१, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाकविको सम्झनामा स्मृति काव्य उत्सव