चितवन । भरतपुर महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुले आगामी वर्ष कक्षा ८ र एसईईको नतिजा सुधार्ने प्रतिवद्धता जनाएका छन् । विद्यालयहरुले महानगरपालिकासँग आगामी वर्ष नतिजा सुधार्ने लिखित प्रतिवद्धता जनाएका हुन् । पछिल्लो समय सार्वजनिक शिक्षा सुधारका लागि कम्मर कसेर लागेको भरतपुर महानगरले नगरभित्रका सबै सामुदायिक विद्यालयहरुसँग एसईईको नतिजा सुधार गर्ने प्रतिबद्धता लिएको हो । सबै विद्यालयहरुसँग २८ बुँदे कार्यसम्पादन करार गर्दै महानगरले कक्षा ८ र एसईईको नतिजा सुधार्ने प्रतिबद्धता लिएको हो । जसरी अन्य व्यापारिक कम्पनी या संघसंस्थाले आगामी वर्षका लागि लक्षित उपलब्धि निर्धारण गर्छन् त्यसरी नै महानगरले विद्यालयहरुसँग सिकाइ उपलब्धिको लक्ष्य वा टार्गेट निर्धारण गरिदिएको हो । लक्ष्य मात्रै निर्धारण गरिएको छैन महानगरले लक्ष्य पूरा गर्नका लागि विद्यालयहरुसँग कार्ययोजना पनि मागेको छ ।
महानगरले विद्यालयका प्रअहरुसँग आगामी वर्षको लक्षित सिकाइ उपलब्धिको प्रतिवद्धता लिएसँगै प्रअ र विद्यालयहरुले फेरि शिक्षकहरुसँग पनि त्यस्तै खालको प्रतिवद्धता लिएका छन् । फेरि शिक्षकहरुले आफ्ना विद्यार्थीहरुसँग नतिजा सुधार्ने त्यस्तै खालको लिखित सम्झौता गरेका छन् । गत वर्षको कक्षा ८ को वार्षिक परीक्षा र एसईईमा कति नतिजा थियो, अहिले कति छ र अब कति बनाउने हो ? विद्यालयहरुलाई सहभागी विद्यार्थी सङ्ख्याका आधारमा लक्ष्य निर्धारण गर्न लगाइएको छ । अब हरेक परीक्षाको नतिजा पछि लक्ष्य पूरा भए नभएको विद्यालयमै समीक्षा हुने महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास आचार्यले जानकारी दिए ।
लक्ष्य पूरा नभएमा किन पूरा नभएको हो ? कार्यायोजना कार्यान्वयनमा कहाँनेर समस्या भयो त्यसबारे महानगरले सुझाव पनि दिने गरेको छ । महानगरले सहयोग गर्नुपर्ने कुरा भए बुँदागत रुपमा मागेर सहयोग गर्ने पनि गरिएको छ । विद्यालयमा भर्ना भएर पढिरहेका विद्यार्थीहरुको नतिजा प्रति विद्यालयहरुलाई जिम्मेवार बनाउनका लागि कार्यसम्पादन करार गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख आचार्यले जानकारी दिए । विद्यालयहरुको आगामी वर्षको नतिजा सुधारको लक्ष्य महानगर आफैले तोकिदिएको भने होइन । विद्यालयहरु आफैले आफ्नो वस्तुस्थिति मूल्यांकन र शिक्षक विद्यार्थीहरुसँग छलफल गरेर लक्ष्य निर्धारण गरेका हुन् । कतिपय विद्यालयहरुले पछि आएर पनि तोकिएको लक्ष्य बढाउने पनि गरेका आचार्यले जानकारी दिए ।
शैक्षिक प्रशासन महाशाखाले महानगरका नगरप्रमुख र उपप्रमुखकै उपस्थितिमा औपचारिक कार्यक्रम गरेर विद्यालयका प्रअहरुसँग तीनपन्ने २८ बुँदे कार्यसम्पादन करार गरेको हो । विद्यालयहरुसँग कार्ययोजना सहित २०८१ को कक्षा ८ को अन्तिम परीक्षा र एसईईमा कति नतिजा पुर्याउन सक्नुहुन्छ भनेर लक्ष्य मागिएको थियो । हरेक त्रैमासिक परीक्षा पछि निर्धारित लक्ष्य, नतिजा र कार्ययोजनाबारे समीक्षा गर्ने गरिएको महाशाखा प्रमुख आचार्यले जानकारी दिए । नतिजामा सुधार नआएसम्म भवन राम्रो बनाउँदैमा, सबै विद्यार्थी भर्ना गर्दैमा शिक्षा सुध्रिदैन महाशाखा प्रमुख आचार्यले भने, आएका विद्यार्थीले के गरेर गए भन्ने कुरा महत्वपूर्ण हो ।
कक्षा ८मा महानगरले प्रश्नपत्र मात्रै बनाएर पठाउँदा नतिजा ९२–९४ प्रतिशत छ । ९ को र ११ कक्षाको पनि शतप्रतिशत नतिजा छ । १० र १२ कक्षामा मात्रै किन फेल हुन्छन् त विद्यार्थी ? आचार्यले प्रश्न गरे, आफैले प्रश्नपत्र बनाउने र परीक्षण गर्दा राम्रो हुने, अर्कैले गर्दा नराम्रो नतिजा आउने भएपछि हाम्रा शिक्षकमा कहीँ न कहीँ समस्या देखियो । हाम्रो ५० प्रतिशत बढी शिक्षक दरबन्दी कक्षा ५ सम्मको छ । तर उनीहरुको जवाफदेहिता कहीँ कतै छैन । कक्षा ५ देखि नै शिक्षकलाई नतिजाप्रति उत्तरदायी बनाउँदै लगे मात्रै माथिल्ला कक्षाको नतिजा सुध्रने आचार्य बताउँछन् ।
कक्षा ५ सम्मका शिक्षकलाई न राम्रो गर्नेलाई प्रोत्साहित गर्न सकियो न नराम्रो गर्नेलाई कारवाही ? अब सुधारको सुरुवात तल्लो तहबाटै हुनुपर्नेमा उनको जोड देखिन्छ । कक्षा ५ को अन्तिम परीक्षा पनि पालिकास्तरमा लिने वातावरण भए माथिल्ला तहका नतिजामा सुधार आउने उनको विश्वास देखिन्छ । शैक्षिक प्रशासन महाशाखाले विद्यालयहरुले आगामी वर्षका लागि तय गरेको कक्षा ८ र एसईईको लक्ष्य सबैले देखिनेगरी भित्तामा टाँसिदिएको छ । हरेक आगन्तुकले सजिलै विदालयहरुको यो वर्षको नतिजा र आगामी वर्ष विद्यालयले ल्याउन प्रतिबद्धता जनाएको लक्ष्य सजिलै देख्छन् । अझ महानगरले विद्यालयहरुसँग नतिजा सुधारको प्रतिवद्धता मात्रै जनाएको छैन त्यसका लागि र्शक्षिक सामग्री पनि सहयोग गर्ने गरेको छ । भर्खरै सोल्टी होटर लिमिटेडको सहयोग र मातृ नेपालसँगको सहकार्यमा २० विद्यालयहरुलाई मातृका डिजिटल सिकाइ सामग्री पनि वितरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ कार्तिक २०८१, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम
सयपत्री र मखमली मालाको मूल्य निर्धारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड
भरतपुर महानगरपालिकाको वार्षिक समिक्षा सकियो