बुटवलको चौराहा-गोलपार्क सडकको पुनः ठेक्का सम्झौता, १ वर्षको ‘डेडलाइन’

सफल खबर संवाददाता

शुक्रबार, ०२ कार्तिक २०८१, १४ : ३७
बुटवलको चौराहा-गोलपार्क सडकको पुनः ठेक्का सम्झौता, १ वर्षको ‘डेडलाइन’

बुटवल। आठ वर्षसम्म पनि नबनेपछि ठेक्का तोडिएको बुटवलको चौराहा–गोलपार्क सडकको पुनः ठेक्का सम्झौता भएको छ । झण्डै साढे तीन किलोमिटर सडक खण्ड ठेकेदारले अलपत्र पारेपछि १ वर्षभित्र निर्माण सक्ने गरी नयाँ ठेक्का लगाइएको हो ।

सडकको बाबुल दर्शन मालिका जेभी भैरहवासँग आगामी २०८२ असोज मसान्तभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । ६ लेन सडक विस्तार गर्न भ्याटसहित ३३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो । 

पहिलोपटक सडक डिभिजन कार्यालय, बुटवलले कन्चनजङ्घा बिरुवा जेभीसँग २०७३ चैत १७ गते २०७६ सम्ममा सडक विस्तार सक्ने ठेक्का सम्झौता गरेको थियो ।तर ८ वर्षसम्म पटक-पटक म्याद थप्दासमेत सडक विस्तार नसकिएपछि गत वैशाखमा ठेक्का रद्द गरिएको थियो ।​

बिरुवा जेभी काठमाडौंले ५३ करोड ९७  लाख ९९ हजार ४०० रुपैयाँमा ठेक्का सम्झौता गरेकोमा ८ वर्षमा जम्मा ५४ प्रतिशतमात्र काम गरेको पटक सडक डिभिजन कार्यालय, बुटवलका प्रमुख जिबेन्द्र मिश्रले जानकारी दिए ।उक्त निर्माण कम्पनीसँग २०८२ असोज मसान्तभित्र काम सम्पन्न गर्ने गरी यही असोज १८ गते ठेक्का सम्झौता भएको मिश्रले बताए ।

 

‘सडक निर्माण सम्झौता अवधि एक वर्षको छ,’ मिश्रले लोकान्तरसँग भने, ‘अहिले कन्टेक्टर स्थानीय पनि छ । समयमै काम गरेर लामो समय अलपत्र परेको सडक निर्माण हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’सम्झौताअनुसार निर्माण कम्पनीले अबको केही हप्ता दिनभित्र काम शुरू गर्नेछ ।

सडकमा फुटपाथ ३ मिटर, सर्भिस लेन ७ मिटर, ग्रीनबेल्ट र स्टल साढे २ मिटर र मुख्य लेन साढे १० मिटरको हुने कार्यालय सूचना अधिकारी महेश्वर लम्सालले बताए ।

सडकमा नाइट स्टलसमेत राख्न मिल्ने गरी बनाइनेछ । गुणस्तर कायम गर्न र समयमै काम सम्पन्न गर्नको लागि जनताको निगरानी आवश्यक रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । 

बुटवलको मुख्य बजार क्षेत्रमा जम्मा ३.२५ किलोमिटर सिद्धार्थ राजमार्ग राजमार्गको खण्ड हो । यहीँ खण्डमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग पनि पर्छ ।दुई महत्त्वपूर्ण र अन्तर्राष्ट्रिय राजमार्ग क्षेत्र र बुटवलकै मुख्य बजार क्षेत्र विगत ८ वर्षदेखि कुरूप जस्तै बनेको छ । सडककै कारण धेरै व्यवसायी विस्थापित समेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस