राष्ट्रिय सभा अध्यक्ष दाहाल र भारतीय लोकसभा अध्यक्ष बिरलाबीच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, ०१ कार्तिक २०८१, १४ : ०४
राष्ट्रिय सभा अध्यक्ष दाहाल र भारतीय लोकसभा अध्यक्ष बिरलाबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र भारतीय संसद् लोकसभाका अध्यक्ष ओम बिरलाबीच शिष्टाचार भेटवार्ता भएको छ। अन्तर-व्यवस्थापिका संघको १४९ औँ महासभामा सहभागी हुन जेनेभामा रहेका अध्यक्ष दाहाल र लोकसभा अध्यक्ष बिरलाबीच द्विपक्षीय भेटवार्ता भएको हो ।

सो अवसरमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, अनुभव आदान प्रदान तथा आपसी हितका बारेमा छलफल भएको थियो । भेटमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल-भारत दुई देशबीच कूटनीतिक(राजनीतिक तहमा मात्रै नभई जनस्तरमा गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै जनताबीचको भावनात्मक सम्बन्धले दुई देशको सम्बन्धलाई अझ बलियो बनाएको बताए ।

‘नेपाल-भारत असल छिमेकीका रूपमा ऐतिहासिक सम्बन्ध त छँदैछ, अध्यक्ष दाहालले भने, ‘जनस्तरको गहिरो भावनात्मक सम्बन्धले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाएको छ ।’

संघीय संसदले विगतदेखि नै नेपाल(भारत संसदीय मैत्री समूह गठन गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले दुई देशका संसद्हरूबीचको पारस्परिक सहयोग, अभ्यास र अनुभव आदान प्रदानका लागि भेटघाट र भ्रमणलाई जोड दिनुपर्ने बताए । एक अर्काका संसदीय अभ्यास र अनुभव आदान प्रदानले लोकतान्त्रिक मूल्यमान्यतालाई सुदृढ गर्न र सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने अध्यक्ष दाहालले बताए ।

सो अवसरमा भारतीय लोकसभाका अध्यक्ष बिरलाले भारत र नेपाल छिमेकी मात्रै नभई ऐतिहासिक सम्बन्ध र संस्कृतिका संरक्षक भएको बताए । दुई देशका सामाजिक, सांस्कृतिक सम्बन्ध परापूर्वकालदेखि नै घनिष्ठ रहेको भन्दै उनले कूटनीतिक सम्बन्ध स्थापित हुनुपूर्व नै दुई देशका जनताबीच बलियो सम्बन्ध रहेको बताए ।

भारतीय संसद्का विविध आयाम र पक्षहरूको चर्चा गर्दै अध्यक्ष बिरलाले दुवै देशका संसदीय प्रक्रिया र अभ्यास उस्ताउस्तै भएकोले संसदीय अनुभव पनि एकै खालको भएको बताए । भौगोलिक हिसाबले पनि नजिक भएकाले आवश्यकताअनुसार जतिबेला पनि भेटघाट, भ्रमण आदान प्रदान गर्न सकिने भन्दै उनले दुई देशका संसदीय भ्रमण र सहकार्य वृद्धि गर्नुपर्नेमा जोड दिए । भेटमा दुवै देशका प्रतिनिधिमण्डलमा सहभागी सांसद तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस