चितवनमा लगाइएको धानमा ‘डर्टी पानिकल’ नामक रोगको समस्या

रासस

विहीबार, ०१ कार्तिक २०८१, १२ : ३१
चितवनमा लगाइएको धानमा ‘डर्टी पानिकल’ नामक रोगको समस्या

चितवन । जिल्लामा लगाइएको धानमा ‘डर्टी पानिकल’ नामक रोगको समस्या देखिएको छ । पूर्वी चितवन र पश्चिम चितवनका विभिन्न स्थानमा लगाइएको सावित्री र सावा मनसुली धानमा यो समस्या देखिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ भरतपुरका सूचना अधिकारी इन्द्र शर्मा ढुंगानाका अनुसार एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा लगाइएको धानमा यो समस्या देखिएको हो । उनले भने, ‘यो रोग ढुसी र ब्याक्टेरियाका कारण हुने गर्दछ । पुराना जातमा यो रोगको समस्या देखिएको हो ।’

यो रोग लागेको धानमा बाला लागेपछि दाना नलाग्ने, पपटा हुने, दाना कालो हुने समस्या देखिएको उनले बताए । उनका अनुसार धानमा देखिएको यो रोगका कारण यस वर्ष जिल्लामा चार हजार पाँच सय टन उत्पादन घट्ने अनुमान गरिएको छ । उनले भने, ‘धानको बीउसँगै यो रोगको सङ्क्रमण देखिने गरेको छ । सावित्री र सावा मनसुली धान लगाएका क्षेत्रमा ८० प्रतिशत घाटा हुने देखिन्छ ।’

भारतबाट आयातीत मुकावुला धानको बीउमा समेत यो समस्या देखिएको उनले बताए । यो रोगबाट बच्न बीउ राख्ने क्रममा बीउ छनोट, ढुसी नासक विषादीको प्रयोग र नुन पानीले उपचार गरेर राख्नुपर्ने सूचना अधिकारी ढुंगानाले जानकारी दिए ।

धानमा यो रोग देखिएमा फुल खेल्ने समयमा कप्पर अक्सिक्लोराइड र कार्बनाडेजिङ नामक विषादी दुई ग्राम प्रतिलिटर पानीमा हालेर एक हेक्टर क्षेत्रफलमा तीन सय लिटर छर्नुपर्ने उनले बताए । यो औषधि छरेको एक सातापछि पोपेकोनाजोल नामक विषादी प्रतिलिटर पानीमा एक मिलिलिटर मिसाएर प्रतिहेक्टर तीन सय लिटर पानीको प्रयोग गर्नुपर्ने उनले सुझाव दिए ।

जिल्लामा २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएको छ । जहाँ, चैते ५, हर्दीनाथ ६, बहुगुणी १ र २, मनकामना, गङ्गोत्री, गङ्गाकावेरी, जेरी, ओआर, कतर्नी, मुकागोला, महाराजा, काशिनाथलगायत धानहरु लगाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस