मेची राजमार्ग १४ दिनपछि खुल्यो

सफल खबर संवाददाता

बुधबार, २३ असोज २०८१, १४ : ५१
मेची राजमार्ग १४ दिनपछि खुल्यो

विराटनगर । बाढी र पहिरोले अवरुद्ध भएका मेची राजमार्ग अन्तर्गतको हेवा खोलाबाट यातायातका साधन वारपार हुन थालेका छन् । हेवा खोलामा डाइभर्सन बनेपछि अवरुद्ध भएको १४ दिनपछि यातायातका साधन हेवा खोला वारपार हुन थालेका हुन् ।

असोज १२ गतेको बाढीले बेलिब्रिज बगाएपछि यातायातका साधन सञ्चालन रोकिएकोमा ह्युमपाइप राखेर डाइभर्सन निर्माण भएपछि बुधबार बिहानबाट सवारी र ढुवानीका साधन वारपार गर्न थालेको पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले बताए ।

सडक डिभिजन इलामले १० दिन लगाएर डाइभर्सन बनाएसँगै बिहानदेखि मेची राजमार्गको फिदिमबाट हेवा खोला पारीका पाँचथरस्थित फालेलुङ, हिलिहाङ र याङवरकसँगै ताप्लेजुङ जाने र त्यसतर्फबाट पाँचथर, इलाम हुँदै झापातर्फ जाने सवारी र ढुवानीका साधन गन्तव्यतर्फ जान थालेका हुन् ।

पैदल यात्री र मोटरसाइकलको सहजताका लागि भने नेपाली सेनाको अगुवाईमा असोज १८ गते बाँसको फड्के निर्माण गरेर आवतजावत सुचारु गरिएको थियो ।डाइभर्सनको काम तीन दिन अघि नै सक्ने गरी काम गरे पनि इष्टिमेटभन्दा थोरै मात्रामा हृयुम पाइप आएकोले काममा ढिलाइ भएको थियो । पुनः इटहरीबाट थप ह्युमपाइप ल्याएर डाइभर्सन निर्माण गरेको सडक डिभिजन इलामले जनाएको छ ।

डाइभर्सन बन्नासाथ सयभन्दा धेरै साधन वारपार भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जानकारी दिए । हेवामा ड्राइभर्सन बनेसँगै मेची राजमार्गमा यातायत सुचारु भएको हो ।

मेची राजमार्ग अन्तरगतको राजदुवाली–गोलाखर्क खण्ड पनि सुचारु भएको छ । क्षतिग्रस्त स्थान तार जालीमा ढुङ्गा भरेर उठाइ मर्मत गरिएको छ । त्यसभन्दा अलि माथि पहिरो जान धाँजा फाटेको ठाउँलाई तर्काएर करिब ६० मिटर नयाँ ट्र्याकसमेत खोलिएको छ । अहिलेलाई साना९ठुला सवारी साधन, मोटरसाइकल यहाँबाट गुडिरहेका छन् ।

मेची राजमार्गको राजदुवालीबाट साना-ठूला सबैखाले सवारी साधन चलिरहेको स्थानीय जगत नेम्वाङले जानकारी दिए । मर्मत गरिएको राजमार्ग अब ठूला सवारी पनि चलाउन उपयुक्त भएको र ग्राभेल हालेर थप सहज बनाइँदै गरेको इन्जिनियर विपिन ढुंगानाले बताए ।

प्रतिक्रिया दिनुहोस