प्रधानमन्त्री रोजगार कार्यक्रम विपद्‌ व्यवस्थापनमा परिचालित हुने

सफल खबर संवाददाता

सोमबार, २१ असोज २०८१, ११ : ४७
प्रधानमन्त्री रोजगार कार्यक्रम विपद्‌ व्यवस्थापनमा परिचालित हुने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप सशक्त बनाउँदै, विपद्‌ व्यवस्थापनमा पनि यसको श्रोत परिचालन गर्ने व्यवस्था मिलाएको छ। मन्त्री शरत सिंह भण्डारीको नेतृत्वमा ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७’ मा संशोधन गरी, अब प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोतलाई विपद्‌को बेलामा समेत उपयोग गर्न सकिने प्रावधान थप गरिएको छ।

मन्त्री भण्डारीले यस संशोधनले विशेष गरी देशभर देखा पर्ने विभिन्न विपद्‌हरूको सामना गर्न तत्काल रोजगार सिर्जना गर्न सक्ने व्यवस्था मिलाएको जनाए ।उनका अनुसार यस कार्यविधिको संशोधनले विपद्‌को बेलामा समुदायमा जनशक्ति परिचालन गर्दै प्रभावित व्यक्तिहरूलाई रोजगारी प्रदान गर्न ठोस कदम चालेको छ। ‘विश्वभर विपद्‌को व्यवस्थापनमा कामका लागि पारिश्रमिकमा आधारित आयोजना सञ्चालन हुँदै आएका छन्। नेपालमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ‘सक रेस्पोन्सिभ सोसियल प्रोटेक्सन’ अवधारणाअनुसार लागू गर्दै विपद्‌ व्यवस्थापनमा यसको श्रोत परिचालन गरिनेछ,’ मन्त्री भण्डारीले भने ।

यस संशोधनसँगै कार्यविधिमा ‘विभिन्न विपद्‌को अवस्थामा सूचिकृत बेरोजगार व्यक्तिहरूलाई परिचालन गरी तत्काल राहत तथा विपद्‌ न्यूनीकरण गर्न कार्यपालिकाले निर्णय गरी उपदफा (२) बमोजिमको मर्मत सम्बन्धी रोजगार आयोजना सञ्चालन गर्न सकिनेछ’ भन्ने प्रावधान थपिएको छ। यसलाई उपदफा (२क) को रूपमा समावेश गरिएको छ।

उक्त नयाँ प्रावधानले स्थानीय तहलाई थप सशक्त बनाउँदै विपद्‌को बेलामा समुदायमा देखिएका क्षतिको तत्काल मर्मत र पुनः निर्माण गर्न सक्षम बनाउनेछ। अब, कुनै पनि स्थानीय तहले विपद्‌को बेलामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सामुदायिक पूर्वाधारहरूको मर्मत तथा पुनः निर्माणका लागि बेरोजगार व्यक्तिहरूलाई तत्काल परिचालन गर्न सक्नेछन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमको यो नयाँ संशोधनले भविष्यमा देखा पर्ने प्राकृतिक विपद्‌, जस्तै: बाढी, पहिरो, भूकम्प जस्ता अवस्थाहरूमा तात्कालिक रूपमा जनशक्ति परिचालन गर्न र बेरोजगारीको समस्यालाई समेत सम्बोधन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

मन्त्री भण्डारीले हालसालै देशका विभिन्न भागमा परेको अतिवृष्टिका कारण भएको जनधनको नोक्सानीप्रति सहानुभूति व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना पनि प्रकट गरे। साथै, उनले विपद्‌को बेलामा समुदायको पुनर्निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सक्रिय रूपमा उपयोग गर्न सकिने बताए ।

कार्यविधिको यो संशोधनसँगै प्रधानमन्त्री रोजगार कार्यक्रमले विपद्‌ व्यवस्थापनमा योगदान पुर्‍याउनुका साथै बेरोजगारी न्यूनीकरणमा पनि ठोस कदम चाल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस