त्रिभुवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, १८ असोज २०८१, १४ : ५३
त्रिभुवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

शुक्रबार बिहान उनले विमानस्थल व्यवस्थापन, नेपाल नागरिक उड्डयन प्राधिकरण, निजी क्षेत्रका सेवा प्रदायक संस्था, सुरक्षाकर्मीलगायतका सम्बद्ध सबै पक्षसँग छलफल गरी सेवामा थप सुधार गर्न सचेत गराएका हुन् ।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलमा आउने यात्रुहरू शक्तिशाली सन्देशवाहक भएको उल्लेख गर्दै मन्त्री पाण्डेले उनीहरूलाई थप सेवा दिने कुरामा कहीँकतै नचुक्न पनि सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराए ।

उनले उड्ने र गुड्ने दुवै सवारी साधनले चाडबाडका बेला एकतर्फी भाडामा काम गर्नुपर्ने मर्का आफूले बुझेको र त्यस्ता समस्या समाधानका उपायको खोजी गर्ने पनि बताए।

उनले यात्रुहरूलाई सेवा दिने कुरामा अब कुनै कमी नहुने विश्वास समेत व्यक्त गरे । विमानस्थलमा हुने सेवामा भोलिदेखि नै थप सुधारका संकेतहरु देखिनुपर्ने मन्त्री पाण्डेको भनाई थियो ।

उनले भने,‘ पर्यटक भनेको एउटा शक्तिशाली सन्देशवाहक हो । त्यसैले हामीले त्यो कुरा एयरपोर्टमा सुधार्दै गएको छौँ । तर, थप सुधार गर्नुपर्नेछ । र, यो विषय परिस्थितिमा यात्रुहरूलाई सेवा दिने कुरामा तत्परता देखाउनु हुनेछ भन्ने ठान्दछु ।’ मन्त्री पाण्डेले सरकारले हवाई उड्डयनको क्षेत्रमा धेरै काम गर्नुपर्ने पनि बताए । 

प्रतिक्रिया दिनुहोस