राति-राति दरबारमा यसकारण चल्थ्यो गोली

शनिबार, २७ असोज २०७५, ०९ : २४
राति-राति दरबारमा यसकारण चल्थ्यो गोली

(नारायणहिटी राजदरबार हत्याकाण्डबारे पत्रकार देवप्रकाश त्रिपाठीको अनुसन्धानमा आधारित पुस्तक 'महानिशा'को धारावाहिक अंश– ५)

दीपेन्द्र सानैदेखि तीक्ष्ण र चतुर त थिए नै ज्यादा चञ्चले पनि । दीपेन्द्रको चञ्चलतापूर्ण व्यवहार बुढानीलकण्ठ स्कुलका सहपाठी तथा शिक्षक र प्रधानाध्यापकले राम्रैसँग सामना गर्नुपरेको थियो । बाल्यकालदेखि नै दीपेन्द्रलाई भावी राजाको रूपमा हेर्न र सोहीअनुरूपको व्यवहार गर्न थालिएको थियो । त्यसताका दीपेन्द्रका निकवर्तीहरूले उनमा गज्जबको ‘प्रतिभा’ रहेको महसुस गरेका थिए । कुनै खास अवस्थामा एउटा रूपमा प्रस्तुत हुने उनी मौका पाउँदा अर्कै रूपमा प्रकट हुन्थे । दया, करुणा र प्रेमको मात्रा उनमा जति देखिन्थ्यो त्योभन्दा कैयन गुणा बढी क्रोध, कुण्ठा, बदलाको भावना र सन्काहापन दीपेन्द्रमा थियो ।

सार्वजनिक रूपमा उनी अत्यन्त सहज ढङ्गले प्रस्तुत भई दुनियाँको मन जित्ने क्षमता राख्थे भने निजी जीवनमा दीपेन्द्रको व्यवहार त्यसको ठीक विपरीत थियो । किशोरावस्थामा प्रवेश गर्दानगर्दै उनमा आफू यो देशको सबैभन्दा ठूलो र शक्तिशाली मानिस भएको अनुभूति भइसकेको थियो । त्यसैले जवान भएदेखि मर्नुअघिसम्म दीपेन्द्रको निजी व्यवहार अति असामान्य रह्यो । उनको व्यवहार देखेर देख्नेहरू श्री ५ सुरेन्द्रको स्मरण गर्थे । सुरेन्द्रले जंगबहादुर राणालाई त्रिशूली नदीमा घोडासहित फाल हान्न दिएको आदेश, धरहराबाट हाम्फाल्न भनेको जस्ता घटनालाई बिर्साउने व्यवहार दीपेन्द्रले दर्शाउँथे । यस्तै एउटा घटना पोखरामा भएको थियो ।

राजा तथा राजपरिवारका सदस्यहरू वर्षमा एक–दुईपटक पोखरा सवारी हुने र हिउँदको केही समय पोखरामै बिताउने एउटा परम्पराजस्तै बनेको थियो । ०५६ को हिउँदमा पनि युवराज दीपेन्द्र आफ्नो दलबलसहित पोखरा सवारी भएका थिए । पुसको महिना, बिहान सात बजेसम्म अँध्यारै हुन्थ्यो । दीपेन्द्र रत्न मन्दिरबाट निस्केर फेवाताल किनार हुँदै पैदल यात्रामा निस्कने भए । दीपेन्द्रका निजी मित्र र अङ्गरक्षक तथा अन्य सुरक्षाकर्मी पनि सोहीबमोजिम तयार भए । दीपेन्द्र अघि लागे, उनको ठीक पछाडि अङ्गरक्षक प्रवीण खड्का र त्यसपछि अन्य थिए । बाराही मन्दिरलाई बायाँ पारेर अलिक अघि बढेपछि दीपेन्द्र बाटैमा अडिए । र, भने, ‘यो फेवातालमा पौडिएर पारि जान सक्ने कोही छ ?’

‘यो फेवातालमा पौडिएर पारि जान सक्ने कोही छ ?’ ठिहिऱ्याउने जाडो, त्यसमाथि तालमा पौडिएर तैरने कुरा, कसैको मुखबाट वाणी फुटेन । त्यसपछि दीपेन्द्र कुर्लिए, ‘मलाई थाहा छ तिमीहरू कसैमा कुनै हिम्मत छैन । जाबो चिसोसँग डराउनेहरू सङ्कट आइपऱ्यो भने कसरी भाग्छन् भन्ने म अनुमान गर्न सक्छु । म कुनै कराणवश पानीमा खसेँ भने पनि तिमीहरू हेरेर बसिरहने छौ ।’

 

ठिहिऱ्याउने जाडो, त्यसमाथि तालमा पौडिएर तैरने कुरा, कसैको मुखबाट वाणी फुटेन । त्यसपछि दीपेन्द्र कुर्लिए, ‘मलाई थाहा छ तिमीहरू कसैमा कुनै हिम्मत छैन । जाबो चिसोसँग डराउनेहरू सङ्कट आइपऱ्यो भने कसरी भाग्छन् भन्ने म अनुमान गर्न सक्छु । म कुनै कराणवश पानीमा खसेँ भने पनि तिमीहरू हेरेर बसिरहने छौ ।’ यसरी सबलाई ललकारे र उनी अघि बढे ।

फेवाताल पूरै हुस्सुले ढाकेको थियो । कलिलो सूर्य किरणले बादल र हुस्सु छिचोलेर धर्ती सतहसम्म आफ्नो पहुँच पुऱ्याउन सकेको थिएन । त्यसैले वातावरण अत्यन्त चिसो थियो, तर दीपेन्द्रको द्रुतगतिको हिँडाइलाई पछ्याउँदा यात्रामा सहभागीहरू शरीरमा न्यानोपन बढ्दै गएको महसुस गर्दै थिए ।
हिंड्दाहिँड्दै अचानक दीपेन्द्र रोकिएपछि उनको पछाडि हिँडिरहेको लस्कर पनि रोकियो ।

‘तिमीहरू म मरे पनि हेरिरहन्छौ, हो कि होइन ?’ च्याँठ्ठिएर सोधे दीपेन्द्रले । ठीक पछिल्तिर उभिएका क्याप्टेन प्रवीण खड्काले सहन सकेनन् र जवाफ फर्काए, ‘होइन सरकार ।’

‘पक्कै होइन त ?’

‘होइन सरकार ।’

अङ्गरक्षक प्रवीण खड्कातिर हेर्दै उनले आदेश दिए, ‘लौ त्यसो भए तिमी तुरुन्त फेवातालमा हाम्फाल ।’

आदेशको पालना गर्नैपर्थ्यो । प्रवीण खड्का बाटोको छेउमा बसेर आफ्नो जुत्ता, मोजा र अन्य कपडा खोली पानीमा फालहान्ने तयारीमा लागे । त्यसरी प्रवीणले जुत्ता–मोजा खोल्न लागेको देखेपछि दीपेन्द्रले अपशब्द प्रयोग गरी कम्मरमा भएको पेस्तोल निकालेर प्रवीणतिर सोझ्याउँदै च्याँठ्ठिए, ‘तँलाई मैले कपडा–जुत्ता खोलेर फाल हान्नु भनेको हो ? जुत्ता र कपडासहित फाल हान्छस् कि सिध्याइदिऊँ ।’

त्यहाँ उपस्थित सबैको होसहवास गुमेझैँ भयो । प्रवीण खड्का झन बढी आत्तिए । उनले ‘गल्ती भयो सरकार माफी पाऊँ’ भन्दै जुत्ताको तुना कसे र कपडासहित फेवातालमा फालहाने ।

दरबारको इच्छाविपरीत निर्वाचन सम्पन्न गरेकै कारण राजा वीरेन्द्रको जन्मोत्सवका अवसरमा मान–पदवी घोषणा हुँदा त्यसमा विष्णुप्रताप शाहको नाम पर्न सकेन । विष्णुप्रतापजी आफन्त र निकटकाहरूसँग भन्ने गर्नुहुन्थ्यो, ‘सप्ताह लगाउने, पुराण वाचन गर्ने पण्डितहरूले गोरखा दक्षिण बाहुलगायत अनेक पदक पाए, तर जोखिम मोलेर निर्वाचन गराउन सक्रिय भएकाहरू कसैले पनि कुनै पदक पाएनन् ।’

 

त्यसपछि दीपेन्द्रले ठूलो अट्टहास गरे । करिब पाँच मिनेटपछि प्रवीणले पानीबाट बाहिर निस्कने अनुमति पाए । तर, उनले कपडा बदल्ने वा ड्युटी छोडेर जाने अनुमति पाएनन्,’ लुगलुग काँप्दै दीपेन्द्रको जीवनरक्षाका निम्ति उनी क्रियाशील भइरहे ।

पोखराबाट फर्केपछि प्रवीणले आपना पिता कुलबहादुर खड्का (जो सेनाकै उच्चधिकारी थिए) र आफ्नी पत्नीसँग निकै भावुक भएर यस दुःखद् घटनाको सेयर गरेका थिए । प्रवीण खड्काका ससुरा विष्णुप्रताप शाह (तात्कालिक प्रमुख निर्वाचन आयुक्त) सम्म यो कुरा पुगेपछि शाहलाई यस घटनाले दुःखी र चिन्तित तुल्याएको थियो ।

विष्णुप्रताप शाहले ०५६ को संसदीय निर्वाचन कुलशतापूर्वक सम्पन्न गराएका थिए । तात्कालिक दरबार उक्त निर्वाचन चाहँदैनथ्यो र कुनै बहानाबाजी गरेर निर्वाचन आयोगले चुनाव स्थगित गरोस् भन्ने कामना दरबारियाहरूको थियो । कुनै रमेशनाथ पाण्डेले प्रमुख निर्वाचन आयुक्त शाहलाई आफ्नै घरमा रात्रिभोजको निम्ति बोलाएर ‘कुनै निहुँ बनाउँदै चुनाव स्थगित गर्न सकिँदैन’ भनी तात्कालिक दरबारको इच्छा जाहेर गरेका थिए । शाहले चुनाव गर्नुपर्छ, गराउन सकिन्छ र सकिँदैन भन्ने कुनै पनि कारण नभएको बताएर त्यसबेला पाण्डेलाई ‘पानी–पानी बनाएकोे’ कुरा शाहले आफ्ना निकटस्थहरूलाई सुनाउने गरेका थिए । त्यसरी दरबारको इच्छाविपरीत निर्वाचन सम्पन्न गरेकै कारण ०५६ पुस १४ गते राजा वीरेन्द्रको जन्मोत्सवका अवसरमा मान–पदवी घोषणा हुँदा त्यसमा विष्णुप्रताप शाहको नाम पर्न सकेन । विष्णुप्रतापजी आफन्त र निकटकाहरूसँग भन्ने गर्नुहुन्थ्यो, ‘सप्ताह लगाउने, पुराण वाचन गर्ने पण्डितहरूले गोरखा दक्षिण बाहुलगायत अनेक पदक पाए, तर जोखिम मोलेर निर्वाचन गराउन सक्रिय भएकाहरू कसैले पनि कुनै पदक पाएनन् ।’

आफ्ना ज्वाइँ प्रवीण खड्कालाई युवराज दीपेन्द्रबाट त्यसप्रकारको संवेदनशील दुर्व्यवहार हुनुको कारण पनि कतै दरबारले मलाई चोट पुऱ्याउने उद्देश्यले गरेको हो कि भन्ने आशङ्का शाहले गरेका थिए । कारण जे भए पनि दीपेन्द्र कुन हदसम्म अमानवीय थिए भन्ने कुराको एउटा सानो दृष्टान्त प्रवीण खड्का प्रकरणलाई मान्न सकिन्छ ।

बन्दुक चलाउन उनी निपुण थिए, दुई हातमा बन्दुक लिएर एकैपटक दुई निसाना लगाउन सक्ने क्षमता दीपेन्द्रमा थियो । उनी नारायणहिटी परिसरभित्रका रूखहरूमा चराका गुँड (खासगरी कागका) कहाँ छन् भनेर दिउँसो पत्ता लगाउँथे र रात परेपछि गुँडमा निसाना लगाएर भुइँमा खसाल्थे ।

सार्वजनिक रूपमा दीपेन्द्र जसरी प्रस्तुत हुन्थे त्यसलाई मानिसले मन पराएका थिए । एकैछिन भेट गरेर फर्कनेहरूको दीपेन्द्रका प्रति सद्भाव, सम्मान र आकर्षण बढ्थ्यो, तर उनलाई दिनहुँ व्यहोर्नुपर्ने दरबारका कर्मचारी, सुसारे, अङ्गरक्षक र परिवारका सदस्यहरूले भने दीपेन्द्रका प्रति अलिक भिन्न धारणा बनाएका थिए । दीपेन्द्रको व्यवहारलाई उनीहरू कसैले पनि स्वाभाविक रूपमा लिन सकेका थिएनन् । दीपेन्द्रका कारण उनका सुसारे र अङ्गरक्षकहरूले ठूलो सास्ती व्यहोर्नुपरेको थियो ।

दरबारभित्र दिनभरि सिपाहीहरूसँग फुटबल खेल्ने र साँझ सिपाहीहरूसँगै खाना खाइदिन्थे उनी । त्यसो गर्दा सिपाही त खुसी नै हुन्थे, तर युवराजाधिराजका रूपमा उनको त्यस्तो व्यवहारलाई दरबारभित्र कसैले पनि स्वाभाविक मान्न सकिरहेका थिएनन् ।

बन्दुक चलाउन उनी निपुण थिए, दुई हातमा बन्दुक लिएर एकैपटक दुई निसाना लगाउन सक्ने क्षमता दीपेन्द्रमा थियो । उनी नारायणहिटी परिसरभित्रका रूखहरूमा चराका गुँड (खासगरी कागका) कहाँ छन् भनेर दिउँसो पत्ता लगाउँथे र रात परेपछि गुँडमा निसाना लगाएर भुइँमा खसाल्थे । यसरी दीपेन्द्रले कागका धेरै माउ र बच्चाको ज्यान लिएका थिए । राति मन्द बत्तीमा या अँध्यारोमा दौडिरहेको बिरालोलाई पनि उनी टाढैबाट गोली चलाएर ठाउँका ठाउँ ठहरै पार्थे । दरबारमा राति गोली चल्यो भने त्यो या त चराको गुँड या बिरालोमाथिको हमला हो भन्ने बुझिन्थ्यो र एकप्रकारले दरबारमा रात परेपछि गोलीको आवाज सामान्य हुन थालेको थियो । ०५८ जेठ १९ गते राति गोलीको आवाज आउँदा पनि सुरुमा सुरक्षाकर्मी तथा अन्यले त्यस्तै ठानेका थिए । पछि मानिसको ठूलो आवाजसहितको कोलाहल र रुवावासी भएपछि मात्र सुरक्षाकर्मी तथा त्रिभुवन सदनबाहिर रहेका आफन्त र नातेदारहरू कुनै अप्रिय घटना भयो कि भन्दै घटनास्थलतर्फ बढेका थिए ।

दीपेन्द्रको बालसखा प्रिया र दिवानीसँग प्रेमसम्बन्ध थियो भन्ने जगजाहेर छ । तर, उनी यी दुईप्रति पनि इमानदार थिएनन् । युवतीहरूमाथि दीपेन्द्र विशेष रुचि राख्थे । यतिसम्म कि दरबारका कर्मचारीहरूमध्ये कसैकी छोरी राम्री छ भन्ने कुराको सुराक मिल्यो भने सम्बन्धित कर्मचारीलाई भेटी उनले ‘म तिम्रो घरमा आउँछु है’ भन्ने गर्थे । दीपेन्द्रको चरित्रलाई बुझेर कतिपयले आफ्ना छोरीहरूलाई विदेश पढ्न पठाएका थिए भन्दा विश्वास गर्न गाह्रो हुन्छ । तर, विदेशमा छोराछोरी पढाउनु अरूका लागि रहर भए पनि दरबारका कर्मचारीका निम्ति चाहिँ त्यसताक बाध्यता बनेको थियो ।

दीपेन्द्र बेलाबेलामा सैन्य पोसाक लगाएर दरबारबाट बाहिरिन्थे र हराउँथे । सुरुसुरुमा त राजारानीले निकै पिर मानेर उनको खोजी पनि गर्थे, तर बारम्बार यस्तो क्रम दोहोरिन थालेपछि उनीहरूले पनि चिन्ता लिन छोडेका थिए ।

आफ्नी एउटी प्रेमिकालाई दीपेन्द्रले ‘एभोर्सन’ गराएको जानकारी त्रिलोचन शाह, राजु कार्की र गजेन्द्र बोहरामा मात्र सीमित थिएन । दरबारका अन्य केहीले पनि यस कुराको जानकारी पाएका थिए ।

दीपेन्द्र बेलाबेलामा सैन्य पोसाक लगाएर दरबारबाट बाहिरिन्थे र हराउँथे । सुरुसुरुमा त राजारानीले निकै पिर मानेर उनको खोजी पनि गर्थे, तर बारम्बार यस्तो क्रम दोहोरिन थालेपछि उनीहरूले पनि चिन्ता लिन छोडेका थिए ।

सानोतिनो व्यापार गरेर काठमाडौंमा बसेका पोखराका लेखनाथ नामक व्यक्तिले नागार्जुनमा एउटा सानो रिसोर्ट पनि सञ्चालन गरेका थिए । रिसोर्टको साँचो मागेर कैयन दिनसम्म रिसोर्ट कब्जामा लिँदा पनि लेखनाथले दीपेन्द्रका विरुद्ध एक शब्द बोल्न सकेनन् । दीपेन्द्रबाट पटकपटक यसप्रकारको हर्कत भएपछि कालान्तरमा लेखनाथ रिसोर्ट नै बिक्री गर्न बाध्य भएका थिए ।

एक दिन, कालो सीसा लगाइएको रातो गाडी नागार्जुनस्थित रिसोर्टमा रोकियो । गाडीबाट दीपेन्द्र ओर्लिए र सोझै रिसोर्टभित्र छिरे । साथमा एउटी युवती र नेपाल प्रहरीका एक अधिकृत थिए । ती अधिकृत लामो समयदेखि दरबारको अंगरक्षक समूहमा सामेल थिए । पछि डीआईजीपीसम्म भएर उनले अवकाश पाए । रिसोर्टभित्र पुऱ्याएर ती अधिकृत बाहिरिए । सोही रात मारुती भ्यानमा उनी फर्किए । तर, पाँच मिनेटभित्रै त्यहाँ अर्को एउटा जिप प्रविष्ट भयो ।

जिपबाट ६ जना मानिस ओर्लिए । नागरिक पोसाकमा रहेका उनीहरूको भावभङ्गिमा र कपाल कटाइको शैलीले ती प्रहरी भएको अनुमान गर्न सकिन्थ्यो । दुई दिनसम्म दीपेन्द्र त्यहाँबाट बाहिरिएनन् । दीपेन्द्रको लागि आवश्यक खाना र सामानको प्रबन्ध त्यहाँ उपस्थित नागरिक पोसाकका प्रहरीले नै गरेका थिए । यस प्रकारका घटना पटक–पटक हुन थालेपछि लेखनाथले उक्त ‘प्रपर्टी’ बिक्री गरिदिएका थिए । (क्रमश:)

यस अघि

अंश- १ : युवराजको जन्म र अनिष्टको आशंका

अंश- २ : ‘कुलनाशक’ देखिएपछि दीपेन्द्रको जन्मकुण्डली परिवर्तन

अंश- ३ : राजा महेन्द्रको ‘बहुदलीय पञ्चायती संविधान’, जो जारी हुन पाएन

अंश- ४ : राजा महेन्द्रलाई आफ्नो आदर्श मान्थे दीपेन्द्र

प्रतिक्रिया दिनुहोस