मधेशमा राहत तथा पुनःस्थापनाका लागि आठ करोड विनियोजन

सफल खबर संवाददाता

सोमबार, १४ असोज २०८१, १३ : ०४
मधेशमा राहत तथा पुनःस्थापनाका लागि आठ करोड विनियोजन

जनकपुरधाम । मधेस प्रदेश सरकारले अविरल वर्षाले पुर्‍याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक-एक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ ।

मधेसमा बाढीबाट भएको सडक क्षतिको पुनः निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तत्कालै पाँच करोड रकम विनियोजन गर्ने निर्णय गरेको हो । आइतबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।

मुख्यमन्त्री सिंहले देशभरिका बाढी र पहिरोको प्रकोपले मधेस अछुतो नरहेको र आठवटै जिल्लामा समस्या भए पनि सप्तरीमा कोशी नदीका कारण हनुमाननगर कंकालिनी, रौतहटमा बागमती नदीका कारण राजदेवी नगरपालिका र सर्लाहीमा बकैया र बागमती नदीका कारण बलरा नगरपालिकासहितका पालिकाहरु अति प्रभावित भएको जानकारी दिए ।

उनले मन्त्रिपरिषद्को बैठकबाट सम्पूर्ण दातृ निकायहरुलाई राहतका लागि खुल्ला आह्वान गरिएको र प्रभावित क्षेत्रमा पुग्न आग्रह गर्ने निर्णय भएको बताए । मुख्यमन्त्री सिंहले मधेसको प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएकोसमेत बताए ।

प्रतिक्रिया दिनुहोस