मकवानपुरको सिस्नेरीमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बेपत्ता

सफल खबर संवाददाता

शनिबार, १२ असोज २०८१, १३ : २२
मकवानपुरको सिस्नेरीमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बेपत्ता

हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरी बजार नजिकैको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बाढीमा बेपत्ता भएका छन् ।

शनिबार बिहान कुलेखानी जलासय खोलेपछि खोलामा बाढी आएको थियो । खोलासँगै जोडिएको विद्यालयमा बालकहरुलाई सुरक्षित स्थानमा लैजाने क्रममा ६ जना बेपत्ता भएको जानकारी आएको विद्यालयका अध्यक्ष तथा एकेडेमीका संयोजक सुभाषचन्द्र ठकुरीले जानकारी दिए ।

उक्त विद्यालयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्षदेखि एकेडेमी सञ्चालन गरेको थियो ।एकेडेमीमा ४० जना बालक थिए । कुलेखानीको बाँध खोलेपछि खोला बढेकाले सुरक्षित स्थानतर्फ लैजाने क्रममा माथिबाट लेदोसहितको पहिरो जाँदा ६ जना बेपत्ता भएका ठकुरीले जानकारी दिए ।

३४ जना भने सुरक्षित रहेको उनको भनाइ छ ।मकवानपुरका एसपी सीताराम रिजालले खेलाडी बेपत्ता भएको खबर आएको तर प्रहरी घटनास्थलमा पुग्न नसकेको बताए । ‘खेलाडी वेपत्ता भएको सूचना आएको छ । तर बाढी पहिरोका कारण प्रहरी घटनास्थल पुग्न सकेको छैन’ एसपी रिजालले भने ।

प्रतिक्रिया दिनुहोस