यसरी वीरगञ्जमा मनाइयो पर्यटन दिवस

रासस

शुक्रबार, ११ असोज २०८१, १४ : ५१
यसरी वीरगञ्जमा मनाइयो पर्यटन दिवस

पर्सा  । औद्योगिक तथा व्यापारिक नगरीको पहिचान बनाएको वीरगञ्जमा ४५औँ अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइएको छ । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले आज वीरगञ्ज भन्सार नाका हुँदै जनकपुरधाम र पशुपतिनाथ दर्शन गर्न आएका भारतीय पर्यटकलाई वीरगञ्जको शंकराचार्य गेटमा भव्य स्वागत गरेर दिवस मनाएका हुन् । 

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका  अध्यक्ष  हरि पन्तले ४५औँ अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा वीरगञ्जको शंकराचार्य गेटमा एक  विशेष कार्यक्रम गरेर भारतीय पर्यटकलाई भव्य स्वागत गरिएको बताए। ‘‘वीरगञ्ज औद्योगिक र व्यापारिक नगरीको साथसाथै धार्मिक पर्यटनको उच्च सम्भावना भए पनि पर्यटन क्षेत्रले आशातित् विकास हुने अवसर पाएको छैन,’’ उनले भने ‘‘वीरगञ्जमा चार वटा तारेहोटसहित ८५ भन्दा धेरै होटल रहेका छन् । तर,वीरगञ्जमा अपेक्षाकृत ढंगले पर्यटकको बसाइ बढाउनेतर्फ अग्रसर हुनुपर्ने बेला भइसकेको छ ।’’ 

वीरगञ्जमा भारतीय तथा अन्य मुलुकका पर्यटकलाई लक्षित गरेर क्यासिनोसहितका सुविधा सम्पन्न तारेहोटल पनि सञ्चालनमा रहेका छन् । वीरगञ्ज भन्सार नाका हुँदै भारतीय पर्यटकहरू पशुपतिनाथ, जनकपुर, गढीमाई र मुक्तिनाथ लगायतका धार्मिक स्थलमा जाने गरेका छन् । 

‘‘हामीले वीरगञ्जको पर्यटन क्षेत्रको प्रवर्द्धन र सम्वद्र्धनका लागि विभिन्न पर्यटकीय गतिविधि गर्दै आइरहेका छौँ’’ उनले भने “सरकारले पनि आवश्यक पर्यटकीय क्षेत्रको प्रवर्द्धनात्मक कार्यक्रममा सहयोग गर्न आवश्यक भइसकेको छ ।’’ अध्यक्ष पन्तले वीरगञ्जमा औद्योगिक तथा व्यापारिक सहरको साथसाथै पर्यटकीय क्षेत्रको रूपमा पनि विकास गर्न जरुरी रहेको बताए । उनका अनुसार वीरगञ्जमा पछिल्लो समय सुविधा सम्पन्न तारे होटल तथा रिसोर्टहरु सञ्चालनमा आएका छन् ।

वीरगञ्जका तारे होटलमा दियालो लडर्स प्लाजा, भिष्वा, क्लार्क रिसोर्ट, लगायतका छन् । वीरगञ्जको पर्यटन क्षेत्र आन्तरिक र सीमा क्षेत्रका भारतीय पर्यटककै कारणले धानिरहको व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस