देशभर वर्षा, १४ स्थानमा चेतावनीको तह पार

सफल खबर संवाददाता

शुक्रबार, ११ असोज २०८१, १४ : ३५
देशभर वर्षा, १४ स्थानमा चेतावनीको तह पार

काठमाडौँ । काठमाडौँसहित हाल देशभर अधिकांश स्थानहरूमा वर्षा भइरहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अत्यधिक वर्षाका कारण वर्षा मापन केन्द्र रहेका १४ स्थानमा चेतावनीको तह पार गरेको छ । चेतावनीको तह पार भएका वर्षा मापन केन्द्रहरूमध्ये धेरैजसो कोसी प्रदेशका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशका मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको रेकर्ड भएको छ । मधेस प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा भएको छ । सप्तरीका बरमझिया र रुपनी बजार तथा मोरङका हरैँचा, बाहुनी, विराटनगर विमानस्थलमा वर्षाले चेतावनीको तह पार गरेर खतराको तहसम्म पुगेको छ।

यसै गरी झापाका अनारमनी, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा, बाहुनडाँगीमा पनि वर्षा खतराको तहसम्म पुगेको छ । २४ घण्टाको अवधिमा झापाका चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २३२।२ मिलिमिटर वर्षा भएको छ । यसै गरी केचनामा २१२, अनारमनी विर्तामा २०२, गौरादहमा १९७, बाहुनडाँगीमा १६७ र सिस्नेमा १४३ मिलिमिटर वर्षा भएको छ ।

झापापछि सबैभन्दा धेरै इलामको माईचुलीमा २३१ मिलिमिटर वर्षा भएको छ । उदयपुरको सुन्दरपुर र पाल्पाको अर्चलेमा पनि अत्यधिक वर्षाले खतराको संकेत गरेको छ ।

आगामी २४ घण्टाका लागि देशभर नै मनसुन सक्रिय रहने सम्भावना छ । वर्षा भइरहेका ठाउँहरूमा कारण गेग्रान बहाव, बाढी, पहिरो र डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस