कार्यविभाजन गर्न एकीकृत समाजवादीको कार्यदल बैठक जारी

सफल खबर संवाददाता

विहीबार, १० असोज २०८१, १२ : २६
कार्यविभाजन गर्न एकीकृत समाजवादीको कार्यदल बैठक जारी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेताहरूको कार्य विभाजनसहितको जिम्मेवारी बाँडफाँड गर्न गठित कार्यदलको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा कार्य विभाजनको मोडलबारे छलफल हुने नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल छन् । असारमा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनपछि विभिन्न विभाग प्रमुख र उपप्रमुख, जिल्ला तथा प्रदेश इन्चार्ज र सहइन्चार्ज, आयोग प्रमुख र उपप्रमुख, जनसङ्गठन इन्चार्ज तोक्न बाँकी छ ।

एकीकृत समाजवादीमा महाधिवेशनपछि पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय सदस्य चयनमा नेतृत्वले आफन्त र गुटलाई प्राथमिकता दिएको भन्दै चर्को असन्तुष्टि छ । सोही असन्तुष्टिका कारण समयमै नेताहरूको कार्य विभाजन हुन नसकेको पार्टीभित्रै आलोचना भइरहेको छ ।

केही नेताहरूका अनुसार कार्य विभाजन निष्पक्ष ढङ्गले नभए केही नेताहरू पार्टी छाड्नेसम्मको छलफलमा लागेका छन् । ‘कार्य विभाजन कसरी हुन्छ हेरौँ । केन्द्रीय सदस्य र पोलिटब्युरोकै नियति दोहोरियो भने विकल्प सोच्नुपर्छ भन्ने साथीहरू छन्’, एक नेताको भनाइ छ ।