विदेशी विद्यार्थीलाई दिने अध्ययन अनुमतिमा थप कटौती गर्दै क्यानडा

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, १० : ५९
विदेशी विद्यार्थीलाई दिने अध्ययन अनुमतिमा थप कटौती गर्दै क्यानडा

ओट्टावा । क्यानडाले विदेशी विद्यार्थीलाई आफ्नो देशमा पढ्नका लागि दिँदै आएको अनुमतिमा थप कटौती गर्ने भएको छ । त्यहाँको सरकारले विदेशी विद्यार्थीलाई दिँदै आएको पर्मिट अर्को १० प्रतिशतले घटाउने भएको छ । सरकारले सन् २०२५ र सन् २०२६ मा करिब ४ लाख ३७ हजार मात्रै पर्मिट दिने लक्ष्य राखेको छ ।

सन् २०२४ मा यो सङ्ख्या ४ लाख ८५ हजार रहनेछ । आगामी ३ वर्षभित्र सरकारले करिब ३ लाख कम अध्ययन अनुमति दिने आशा गरिएको अध्यागमन मन्त्री मार्क मिलरले बुधवार भनेका छन् ।

सरकारले विदेशी कामदार र स्नातकोत्तर कार्यक्रममा जोडिएका विदेशी विद्यार्थीको जहानलाई काम गर्न दिँदै आएको अनुमतिमा पनि नयाँ सीमा लगाउँदैछ ।यो वर्षको सुरुमा क्यानडा सरकारले नयाँ विद्यार्थी भिसामा एक तिहाइले घटाउन अस्थायी सीमाको घोषणा गरेको थियो ।

विदेशी आगमन बढेसँगै जनसङ्ख्यामा भएको वृद्धिका कारण घरजग्गा बजारमा दबाब बढेपछि क्यानडाले पछिल्लो समय अध्यागमनमा कडाइ गरिरहेको छ । अहिलेसम्म सरकारले चालेका कदमहरूले काम गरिरहेको मिलरले भनेका छन् ।