संख्याको दम्भ नदेखाउन सरकारलाई रास्वपाको चेतावनी

सफल खबर संवाददाता

आइतबार, ३० भदौ २०८१, १४ : २४
संख्याको दम्भ नदेखाउन सरकारलाई रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । प्रतिपक्षीलाई पेल्ने नीति सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसलाई महँगो पर्ने उनले चेतावनी दिएका हुन् । आइतबार नेपाल प्रेस सोसाइटीको सूर्यविनायकमा सम्पन्न अन्तरक्रियामा बोल्दै प्रमुख सचेतक परियारले सत्तारुढ दललाई नैतिकता नगुमाउन सुझाव समेत दिए ।

" सत्ता स्थायी हुँदैन, सत्तामा रहँदा राजनीतिक नैतिकता बिर्सनु हुदैन ।" उनले भने । संविधानिक परिषदमा बलियो बन्ने नियतले सत्तारुढ दलहरु मिलेर उपसभामुख इन्दिरा रानालाई पद्च्युत गर्ने प्रपन्च रचेको उनले आरोप लगाएका छन् । " उप सभामुखज्यूले कार्वाही भोग्नुपर्ने स्तरको अपराध गर्नुभएको होइन, उहाँलाई स्पष्टीकरणको मौका दिनुपर्छ ।" उनले भने । हरेक कमजोरीमा कार्वाही गर्दै जाने हो भने ठुला दलका कोहिपनि बाकी नरहने उनको भनाइ छ । सो अवसरमा प्रमुख सचेतक परियारले रास्वपा पुराना दलको बिकल्पको रुपमा आएकाले पुराना दललाई टाउको दुखिरहेको दावी गरेका छन् ।

आगामी निर्वाचनमा पार्टीले प्रदेश र स्थानीय तहको चुनावमा पनि प्रतिस्पर्धा गर्ने संकेत गर्दै उनले भने, " रास्वपा डिलमा बसेर रमिता हेर्दैन, तीनै तहको निर्वाचनमा सामेल हुन्छ ।" यसकै लागि पार्टीले प्रदेश र स्थानीय समिति बनाएको उनले खुलासा गरेका छन् । त्यसैगरी रास्वपाकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा तोसिमा कार्कीले आफूहरू शासक नभई सेवक बन्न राजनीतिमा आएको उल्लेख गरेकी छन् । पू

र्व मन्त्री समेत रहेकी डा कार्कीले छोटो समय सरकारमा सामेल भएको अनुभवले पार्टीलाई सुशासन र बिकासको मार्गमा सरकार हाक्न सक्ने हौसला र सामर्थ्य प्राप्त भएको बताइन् । कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य एवं संगठन बिभागका सचिव शंकर श्रेष्ठले असोज १ र २ गते हुने राष्ट्रिय भेलामा संगठनिक र बैचारिक बिकासका साथै बिधान संशोधन समेत हुने जानकारी दिए । भेलामा करिब २ हजार प्रतिनिधि सहभागी हुने उनको भनाइ छ । नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्रराज केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपा पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकले विषय उठान गरेपछि रास्वपाका नेताहरु र सहभागिहरु बीच अन्तरक्रिया चलेको थियो ।

प्रतिक्रिया दिनुहोस