यस पटकको विद्याभूषण र विद्यापदक पनि उधारोमै

पत्रपत्रिकाबाट

आइतबार, ३० भदौ २०८१, ०८ : ४०
यस पटकको विद्याभूषण र विद्यापदक पनि उधारोमै

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस पटक पनि नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा पदक उधारोमा वितरण गर्ने भएको छ । 

विगतमा शिक्षा दिवसको दिन विशेष कार्यक्रम गरेर वितरण गर्दै आएका ती पदक पाउन योग्य ठहरिएका व्यक्तिहरूको नामावली मन्त्रालयले आफ्नो वेबसाइटमा मात्रै राख्ने निर्णय गरेको छ । स्रोत अभावमा गत वर्ष पनि मन्त्रालयले ती पदक वितरण गरेको थिएन । त्यसभन्दा अघि पनि कोरोनालगायतका कारण पदक वितरण हुन सकेको थिएन । 

सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउँदै आएको छ । उक्त दिन मन्त्रालयले नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ तथा नेपाल प्रविधि विद्याभूषण पदक वितरण गर्ने गरेको थियो । मन्त्रालयले गत २०८० भदौ ३१ गते ९६२ जनालाई नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र नेपाल प्रविधि विद्याभूषण प्रदान गर्ने भनी नाम सार्वजनिक गरेको थियो । स्रोत व्यवस्थापन हुन नसक्दा ती सर्वोत्कृष्ट विद्यार्थीलाई हालसम्म पुरस्कृत गरिएको छैन ।

मन्त्रालयले यस पटक पनि सोही दिन पदक वितरण गर्ने भन्दै पदक लिन योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको थियो । गत वर्ष बाँकी रहेको ९६२ जनासहित यस पटक थप तीन सय जनालाई पदक वितरण गर्नुपर्ने देखिएको मन्त्रालयको विद्यालय शिक्षा शाखाले जनाएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस