छोरीबुहारीलाई उच्चशिक्षा दिँदै बर्दिबास क्याम्पस

सफल खबर संवाददाता

शनिबार, २९ भदौ २०८१, १० : ३१
छोरीबुहारीलाई उच्चशिक्षा दिँदै बर्दिबास क्याम्पस

महोत्तरी । जुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ छन्। लाग्छ, महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारी मात्र पढछन् । क्याम्पसका एक हजार एक सय विद्यार्थीमा छात्रा सात सय भन्दा बढी छन् ।

पूर्व धनुषा, पश्चिम सर्लाही, उत्तर सिन्धुली र दक्षिणमा बर्दिबास नगरपालिकाको बीचमा अवस्थित छ यो क्याम्पस । यो क्याम्पस हाल आएर पठनपाठन छुटेका छोरीबुहारीका लागि उच्चशिक्षाको अवसर दिने थलो बनेको छ ।

क्याम्पसमा बर्दिबास घर वा माइती भएका र धनुषाको मिथिला नगरपालिका लालगढका छोरीबुहारीको सङ्ख्या उल्लेख्य छ । विभिन्न क्षेत्रमा कार्यरत र घरगृहस्थी गरिरहेका छोरीबुहारीहरु यहाँ क्याम्पस सञ्चालन भएपछि उच्चशिक्षामा अध्ययनरत् छन् ।

बर्दिबास–३ पाटुकी गीता खड्काले स्नातक तह उत्तीर्ण गरेपछि स्नातकोत्तर गर्न विविध कारणले सकेकी थिइनन् । बर्दिबासमै स्नातकोत्तरको पठनपाठन सुरु भएपछि उनले भर्ना गरिन् । खड्का अहिले नेपाली विषयको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा छिन् ।

लालगढकी विमला मोक्तान, गौरी जर्घा, चुरेकी मीना तामाङ र बर्दिबास माइती भएकी प्रियङ्का सुवेदीलगायत स्नातकोत्तर पार लगाउने तयारीमा छन् । उनीहरु सबै शिक्षण पेसामा आबद्ध छन् ।

‘हामी विद्यालयमा गुरुआमा, क्याम्पसमा विद्यार्थी’, प्रियङ्का सुवेदीले भनिन्, ‘यहीँबाट स्नातक गरेँ, विवाह रौतटहको चन्द्रपुर भयो, अब पढ्न पाइन्न भन्ने थियो, तर माइत बसेर पढ्ने वातावरण मिल्यो।’ बर्दिबासमा यो तहको पठनपाठन सुरु हुनु आपूmहरुलाई बरदान बनेको प्रियङ्कासहितका छात्राहरुको सामूहिक प्रतिक्रिया छ।

घर नजिक क्याम्पस भएकैले आफूहरु उच्च शिक्षामा जोडिन पाएको उनीहरुको भनाइ छ । ‘घरकै सिठोपीठो खाएर डिग्री गर्न पाइयो’, अहिले स्वास्थ्य विषयको चौथो सेमेस्टरकी छात्रा मीना तामाङ भन्छिन्, ‘यहाँ क्याम्पस नभएको भए हामीजस्ता कमजोर आर्थिक अवस्थाका छोरी पढ्न बाहिर जान सक्दैनथ्यौँ।’

छोरीको उच्चशिक्षामा बाहिर जाने कुरा आर्थिक अवस्था मात्र नभई सुरक्षा संवेदनशीलताले पनि अभिभावक हच्किने गरेका मीनाको बुझाइ छ । क्याम्पसमा अहिले स्नातकोत्तर तहका २१ विद्यार्थीमध्ये १५ जना छोरीबुहारी रहेको क्याम्पस प्रमुख तेजबहादुर खड्का बताउँछन्।

प्रतिक्रिया दिनुहोस