“मन भनेको केटीहरुको कपडाजस्तै उदार र खुकुलो हुनुपर्छ”

ज्योती तिलाञ्जलि

मंगलबार, २३ असोज २०७५, १६ : ०४
“मन भनेको केटीहरुको कपडाजस्तै उदार र खुकुलो हुनुपर्छ”

“मन भनेको केटीहरुको कपडाजस्तै उदार र खुकुलो हुनुपर्छ ।” हिजो रत्नपार्कमा हिँडिरहँदा मैले सुनेको वाक्य हो यो । मलाई खुबै रन्थन्यायो यस वाक्यले । सोचेँ, के सम्झेर भन्यो होला उसले त्यो वाक्य ? नारीप्रतिको घृणा ? नारीप्रतिको चिन्ता ? नारीप्रतिको व्यंग्य ? यस्तै केही सोच्यो होला उसले । तर मलाई नमज्जाले चिमोटिरहेको छ यस वाक्यले । 

जहाँ स्त्री त्यही श्री भन्ने कुरा आजको परिवेशमा कतिको सान्दर्भिक छ र हुन्छ ? यो गहन विषय हो । यो वाक्य सुनेपछि मनुस्मृतिको पनि स्मरण भयो मेरो मानसपटलमा । जहाँ नारीमाथिको अत्याचार आचरणका रुपमा प्रस्तुत छ । तथापि त्यो समय त्यस्तै थियो । समय परिवर्तित भएपछि हामी परिवर्तन हुनुपर्ने हो । कतिसम्म सकेका छौँ भन्ने पनि लाग्यो मलाई । हिजो मनुस्मृति तयार पार्दा कुनै नारीको संलग्नता थिएन र थिएन नारीलाई सोधेर लेख्ने चलन पनि सायद । किन मनुस्मृतिसम्म पुग्ने र हाम्रा आदिकवि भानुभक्त आचार्यको बधूशिक्षा नै हेर्ने हो भने पनि त्यस बेलामा नारीको अस्तित्व कतिसम्म थियो र कुन रुपमा, भन्ने थाहा हुन्छ । समयले कोल्टे फेरेसँगै हरेक क्षेत्रमा देखिएको विश्वव्यापीकरणले पनि नारी र पुरुषबिचको दूरतालाई कम गरेको छ । 

विश्वको दुई पौरस्त्य र पाश्चात्य केन्द्रमा रही हरेक इतिहासहरु विकसित भएका हुन् । चाहे साहित्य, चाहे राजनीति, चाहे संस्कृति, चाहे आर्थिक सबै सबैको परम्परा र इतिहासको आफ्नै महत्त्व र अस्तित्व छ, हुनुपर्छ पनि । एकअर्कामा सम्बन्धित हुन सके झन् सुनमा सुगन्ध थपिने कुरामा कसैको दुई मत नरहला । कालपरिवेश हेर्दा त्यसो नभएको हो कि ? हामी नेपालीहरुसँग आफ्नो परिचयको विविध गाथाहरुमध्ये सांस्कृभिक गाथा पनि एक हो । यहाँ जति जाति छन् सबैको आफ्नै प्रकारको सांस्कृतिक चेतना, रहनसहन र भेषभुषा छ । क्षेत्रका आधारमा पनि अनेकता छ । भनौँ न नेपालीमा एकताभित्र अनेकता र अनेकतामा एकताले आफ्नो अस्तित्व बोध गराएको छ । हामी अरुको संस्कार र संस्कृतिलाई सम्मान गर्न जानेका नेपालीहरुमा आजसम्म धर्मको युद्ध भएको छैन । यो सम्मानयोग्ग कुरा हो भन्ने लाग्छ । 

म सन्दर्भ उठाउँदै थिएँ नारीको लगाइ र रहनसहनलाई केन्द्रित गरेर बोलिएको त्यसै वाक्यको । कहिलेकाहीँ मेरो मनमा पनि नेपाली नारीले लगाउने ब्लाउज र साडीमा सजिएको पहिरन र पश्चिमाहरुले लगाउने सिंगल पिस(माफ गर्नु होला शब्द उतैको सापट लिएँ ।) कुन बढी आकर्षित हुन्छ ? भन्ने भाव उठ्छ । लगाउन कुन सहज हुन सक्छ ? सारी लगाउने नारीहरु जति सहजताका साथ बसको सिटमा, भुईँमा, वा कुनै सभासमारोहमा बस्न सक्छन् त्यो पाश्चात्यको फेसन चोरेर धारण गरिएको सिंगल पिसमा देखिन्न । लगाउन असहज त हुन्छ नै त्यस व्यक्तिको कार्यव्यापारमा जोडिने मानिसहरुलाई पनि कहिलेकाहीँ असहज बनाउँछ । मैले फेरि त्यस प्रकारको कपडा लगाउन हुन्न भनेको हैन । आजको वैज्ञानिक युगमा आएर पनि यस्तो पुरातन सवालमा रुमलिने ? भन्नेहरु पनि भेटिएलान् । तर मैले त्यस सवालबाट यी कुराहरु गरिरहेको छैन । लगाइ सहज हुनुपर्छ । तर सहजताका नाममा संस्कार संस्कृति र सभ्यताको पहिचानलाई भुल्नु हुन्न भन्ने पक्षमा उभिन मात्र खोजेकी हुँ । टिसर्ट र पाइन्ट लगाउँदा जति काममा सहजता आउँछ नि त्यति साडीमा पनि नहोला । त्यसकारण टिसर्ट पाइन्ट लागाउँदैमा हामी बिग्रन्छौँ भनेको छैन मैले । आफ्नो संस्कृतिलाई जोगाउने कार्य पनि त हामीहरुको दायित्व हो नि, हैन र ? 
हामी मिथिलाकलाको सभ्यता बोकेका गर्विला नेपाली हौँ । बुद्धको देशलाई आफ्नो ढुकढुकी बनाएर बाँचेका मानिस हौँ । जोसँग मानवसभ्यताको सुमधुर सम्बन्ध छ । अझ भनौँ हामी शिव र पार्वतीलाई आफ्नै छातीमा हिँडाउने स्वाभिमानी नेपाली हौँ । सरस्वती, पार्वती, उर्वशी, लक्ष्मी पनि हाम्रै अस्तित्वको परिचायक भएर जीवित छन् । आजसम्म र राख्नुपर्छ पृथ्वीको अन्त्यकालसम्म । यति भइरहँदा हामीले पश्चिमाहरुको संगत र संसर्ग गर्न हुन्न भनेको कदापि होइन तर आफ्नो संस्कार, संस्कृति र धर्मलाई जोगाउने जिम्मा हाम्रै हो । नारी मात्र होइन पुरुष पनि सचेतनाका साथ लाग्नुपर्छ हाम्रो अपनत्वको खोजीमा । जनता जर्नाजन त छँदै छन् राज्यले पनि आफ्नो दायित्वबाट लर्खराउनु हुँदैन सभ्यताको खोजी र संरक्षणका लागि । अनि मात्रै हामी नेपाली हौँ भनेर घमण्ड गर्न पाउँछौँ र आफैले आफैलाई व्यंग्य गर्ने दिनको अन्त्य हुन्छ ।    

प्रतिक्रिया दिनुहोस