पशुपति क्षेत्रभित्र मासु र मदिरा बेचबिखनमा प्रतिबन्ध

सफल खबर संवाददाता

बुधबार, १९ भदौ २०८१, १६ : २८
पशुपति क्षेत्रभित्र मासु र मदिरा बेचबिखनमा प्रतिबन्ध

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ क्षेत्रभित्र मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन तथा ओसारपसारमा प्रतिबन्ध लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बुधबार एक विज्ञप्तिमार्फत् तीज पर्वलाई मर्यादित बनाउन आग्रह गर्दै मासु तथा मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको जानकारी दिएका हुन् ।

'हिन्दू नारीहरूको महान चाड हरितालिका (तीज) पर्व, २०८१ लाई मर्यादित, व्यवस्थित र सुरक्षित रुपमा सम्पन्न गर्न भगवान श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्र भित्रको सुरक्षा लगायत धार्मिक एवं सांस्कृतिक मर्यादा तथा पवित्रता कायम राख्ने उद्देश्य समेतलाई मध्यनजर गरी यही मिति २०८१/०५/२० गतेदेखि ऐ. २२ गतेसम्मका लागि देहायका चार किल्ला भित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रुपमा रोक लगाइएको छ। कोही कसैले यो सूचनाको बर्खिलाप गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने ब्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ,' जारी सूचनामा भनिएको छ ।​

 

 

 

प्रशासनले गौशाला, मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गासम्म र चक्रपथदेखि उत्तर, मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुहोश्वरीदेखि दक्षिण भित्रका सबै भागमा उक्त कार्य गर्न प्रतिबन्ध लगाइएको जानकारी दिए ।