‘स्मार्ट लाइसेन्स’ सक्कली कि नक्कली जाँच्नै समस्या

पत्रपत्रिकाबाट

मंगलबार, १८ भदौ २०८१, ०७ : ०२
‘स्मार्ट लाइसेन्स’ सक्कली कि नक्कली जाँच्नै समस्या

काठमाडौ । सरकारले जारी गरेका ‘स्मार्ट लाइसेन्स’ को चेकजाँच ट्राफिक प्रहरीबाट हुन्छ तर ती सक्कली वा नक्कली हुन् भन्ने थाहा पाउने प्रविधि नै प्रहरीसँग छैन । ट्राफिक प्रहरीले आँखाले हेरेर लाइसेन्स जाँच गरिरहेको छ । लेखिएको विवरण त प्रहरीले पढ्छ तर सक्कली हो कि नक्कली पहिचान गर्ने विशेष यन्त्र सडकमा खटिने ट्राफिक प्रहरीसँग छैन । 

यातायात व्यवस्था विभागले हालसम्म झन्डै ४० लाख स्मार्ट लाइसेन्स वितरण गरेको छ । प्रविधिका हिसाबले नक्कली बनाउन नमिल्ने गरी सुरक्षित दाबी गरिए पनि कर्मचारीको मिलेमतोमा नै नक्कली लाइसेन्स वितरण भएका छन् । सामान्य चेकजाँचले ती पत्ता लागेका होइनन्, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को विशेष अनुसन्धानबाट मात्र पत्ता लागेको हो ।

स्मार्ट लाइसेन्समा चिप्स राखिएको हुन्छ । उक्त चिप्समा लाइसेन्सवाहकको विवरण हुन्छ तर हालसम्म उक्त चिप्स पढ्ने (रिड गर्ने) मेसिन उपलब्ध नहुँदा २०७२ सालदेखि वितरण भएका स्मार्ट लाइसेन्सको सक्कली नक्कलीको विशेष चेकजाँच छैन । विभागका महानिर्देशक उद्धव रिजालले भने, “सुरुमा कसरी यसको योजना गरियो थाहै भएन, अब अहिले विश्वासको भरमा चलेको छ चिप्स रिड गर्ने मेसिन नै छैन । वैज्ञानिक तरिकाले चेकजाँच हुन सकेको छैन । चिप्स पढ्न छुट्टै डिभाइस चाहिन्छ ।”

चेकजाँचमा खटिएका प्रहरीले नक्कली वा सक्कली शङ्का लागेमा थप अनुसन्धान त गर्न सक्छ तर सडकमै पहिचान गर्न भने सक्दैन । लाइसेन्समा लेखिएको विवरण मात्र चेकजाँच गर्ने गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता विश्वराज खड्काले बताए । गोरखापत्रमा खबर छ ।