काभ्रेमा फैलिँदै डेंगु

रासस

शनिबार, १५ भदौ २०८१, १६ : १०
काभ्रेमा फैलिँदै डेंगु

काभ्रेपलाञ्चोक । डेढ महिनाको अवधिमा काभ्रेपलाञ्चोकको नौ स्थानीय तहमा डेंगु सङ्क्रमण फैलिएको छ । शुक्रबार एकै दिन छ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।  पछिल्लो २४ घण्टामा पनौती नगरपालिकामा दुई पुरुष र एक महिला, बनेपा नगरपालिकामा एक महिला, मण्डनदेउपुर नगरपालिका र भुम्ल गाउँपालिकामा एक÷एक पुरुषमा डेंग सङ्क्रमण देखिएको कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार गत साउनदेखि हालसम्म जिल्लामा ५७ जनामा डेंग सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये २७ पुरुष र ३० महिला छन् । “शुक्रबार एकै दिन छ जनामा डेङ्गी देखिएको छ, सचेतना कार्यक्रम बढाइँदै लैजान्छौँ, व्यक्ति आफैँं पनि सचेत बन्नुपर्दछ”, श्रेष्ठले भने ।

बनेपा, पनौती र धुलिखेल नगरमा बढी सङ्क्रमित छन् । बनेपा र पनौतीमा १३÷१३ जना, धुलिखेलमा १२, भुम्लु गाउँपालिकामा आठ, नमोबुद्ध नगर र रोशी गाउँपालिकामा तीन÷तीन, पाँचखाल, मण्डनदेउपुरमा दुई÷दुई र तेमाल गाउँपालिकामा एक डेंगु सङ्क्रमित रहेका प्रमुख श्रेष्ठले जानकारी दिए ।

गत आवमा जिल्लामा चार सय ८७ जनामा डेंगु सङ्क्रमण भएको थियो । सङ्क्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी सङ्क्रमण न्यूनीकरण गर्न विभिन्न सचेतनाका कार्यक्रम गरिएको श्रेष्ठले बताए । सङ्क्रमण नियन्त्रण गर्न प्रत्येक शुक्रबार ‘१० बजे दश मिनेट’, ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आइएको उनले जानकारी दिए ।

प्रमुख श्रेष्ठका अनुसार डेंगको उच्च जोखिममा नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि रहेको छ । लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने भएकाले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने उनले बताए ।

डेंगु भएका एक्कासि उच्च ज्वरो आउने, पाँचदेखि सात दिनसम्म ज्वरो रहिरहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेशी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । 

समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने भएकाले डेंगुको शङ्का लागेमा तत्काल स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्ने जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।