१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी

सफल खबर संवाददाता

शुक्रबार, १४ भदौ २०८१, १५ : २७
१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी

सर्लाही। सर्लाहीको चुरेक्षेत्रमा पर्ने अत्रौलीका स्थानीयले डेढ दशकको प्रतीक्षापछि खानेपानीको सुविधा पाएका छन् । निर्माण आरम्भ भएको १५ वर्षपछि हरिवन नगरपालिका–२, अत्रौलीका झण्डै पौने तीन सय घरधुरीले खानेपानी सुविधा पाएका हुन् । 

चुरेको काखमा रहेको अत्रौलीका आधा दर्जन गाउँका स्थानीय पानीको चरम अभाव झेल्न बाध्य थिए । खानेपानीको सुविधा नहुँदा खोलाको पानी पिउनु परेको स्थानीय नवराज मैनालीले बताए ।

‘पानीको कुनै विकल्प थिएन, १५ वर्षदेखि पानी खान पाइन्छ कि भन्ने आशामा थियौँ, घरघरमै धाराबाट पानी आउन थालेपछि भने सुविधा भएको छ,’ उनले भने ।

यसभन्दा पहिले वर्षामा खहरे खोलाको धमिलो पानी पिउने गरेको अर्का स्थानीय पशुपति शर्माले सुनाए । हिउँदमा खोला समेत सुक्दा पानीको चरम अभाव भएको उनले बताए ।

तर अहिले भने घरघरमै खानेपानीको धाराबाट पानी झरेपछि स्थानीय हर्षित भएका छन् । सङ्घीय सरकारको लगानीमा २०६६ साल देखि खानेपानी आयोजना शुरू भएको थियो । तर, पर्याप्त बजेट नपाउँदा अलपत्र पर्दै आएको आयोजना १५ वर्षपछि सम्पन्न भएको हो । यहाँका नागरिकलाई पानी खुवाउन सुरु भएको आयोजना ढिलोगरी पूरा भएको वडाध्यक्ष अर्जुनकुमार योञ्जनले जानकारी दिए ।

 

 

 

 

जनप्रतिनिधिको पहलमा नयाँ बोरिङ र पाइप लाइन विस्तार भएपछि करिब पौने तीन सय घरधुरीले तत्काल पानी उपभोग गर्न शुरू गरेका छन् । हरिवन नगरपालिका–२, का वडाध्यक्ष योञ्जनका अनुसार यस आयोजनालाई आर्थिक वर्ष २०७९–८० मा डिभिजन खानेपानी कार्यालय मलङ्गवाबाट नयाँ बोरिङका लागि बजेट प्राप्त भएको थियो ।

आर्थिक वर्ष २०८०–८१ मा वडाको रु २० लाख र नगर उपप्रमुख हरिमाया घलानको योजनाबाट रु १० लाख बजेट विनियोजन गरी पाइपलाइन विस्तार गरिएको वडाध्यक्ष योञ्जनले बताए । आयोजनाअन्तर्गत दुई हजार लिटर बढी क्षमताको खानेपानी ओभरहेड ट्याङ्की यसअघि नै सङ्घीय सरकारको बजेटबाटै निर्माण सम्पन्न भएको छ ।

समयमै आयोजना निर्माण सम्पन्न नहुँदा एउटा बोरिङ निर्माण भएर काम नलाग्ने भएर खेर गएको थियो । पुनः नयाँ बोरिङ बनाएर पानी वितरण गरेको अत्रौली खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवजी महतोले बताए । हाल धमाधम घर–घरमा धारा जडान गरिरहेका उनले जानकारी दिए ।

यस आयोजनाबाट हरिवन नगरपालिका–२ का मिलनचोक, नयाँबस्ती, जिम्दार टोल, चिसापानी, थाङसिङ्गे टोल र तीनतले गाउँमा खानेपानीको सुविधा पुगेको छ । खानेपानीको समस्याबाट मुक्ति पाउँदा सारा गाउँलेले खुसी भएकाे स्थानीय हरिबहादुर क्याप्छाकीले बताए । 

हरिवन नगरपालिका–२, अन्तरगतको चुरेगाउँ खोरगाउँ र लालिभत्ती क्षेत्रमा समेत वडा कार्यालयले पाइपलाइन विस्तार गरिदिएपछि लालबन्दी खानेपानी तथा सरसफाई संस्थाबाट करिब डेढ सय घरधुरीमा खानेपानी सुविधा पुगेको छ । खानेपानीको दिगो व्यवस्थापन हुँदा खानेपानीको समस्याबाट मुक्ति पाएको खोरगाउँ र लालभित्तीका स्थानीयको भनाइ छ ।