प्रतिवेदनमा लेखनमा जुट्यो सहकारी छानबिन विशेष समिति

सफल खबर संवाददाता

बुधबार, १२ भदौ २०८१, ११ : २४
प्रतिवेदनमा लेखनमा जुट्यो सहकारी छानबिन विशेष समिति

काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनको तयारीमा जुटेको छ । अहिले समितिको बैठक बसिरहेको छ ।

आजको बैठकबाटबाट प्रतिवेदन लेखन कार्य सुरु हुने समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए ।  ‘बैठकमा आजबाट हामी प्रतिवेदन लेखनको तयारीमा जुटेका छौँ । बयान लिने काम सम्पन्न भइसकेको छ । निर्धारित समयभित्र सम्पन्न पनि गर्नु छ‚’ उनले भने ।

समितिले टिओआरको अनुसूची १ र २ मा भएको २९ सहकारीका प्रतिनिधिसँग बयान लिएको थियो । यस्तै‚ रास्वपा सहमहामन्त्री विपिन आचार्य र सभापति रवि लामिछानेसहित विभिन्न हाई प्रोफाइल व्यक्तिको समेत बयान समितिले लिएको थियो ।

‘जीवी राई बाहेक हामीले सबैको बयान लिने काम सक्यौँ‚’ उनले भने ।  प्रतिनिधिसभाको जेठ १५ गते बसेको बैठकले नेकपा (एमाले) सांसद सूर्य थापाको नेतृत्वमा विशेष समिति गठन गरेको हो। समितिको म्याद यही भदौ १५ गते सकिँदैछ । तर‚ काम थालनी गरेको ३ महिना समितिको समायवधी भएकाले भदौ २२ सम्म समय पाउनुपर्ने समिति सदस्यहरूको मत छ ।

थापाको समितिमा एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट दिलेन्द्र बडू (पहिले बद्री पाण्डे) र ईश्वरीदेवी न्यौपाने, नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्।

समितिले सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं प्रणालीको नियमन, सुपरीवेक्षण र पारदर्शिता सम्बन्धनमा अध्ययन गरी सुझाव दिनु टिओआरमा उल्लेख छ । यस्तै‚ दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने जिम्मेवारी समितिको छ । 

यस्तै सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थामा प्रवाह भएको रकमको स्थिति, सो रकम गैर कानुनी रूपमा प्रवाह भए नभएको र त्यस्तो गैर कानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूबारे अध्ययन छानबिन गरेको समितिले यी विषय प्रतिवेदनमा लेखेर सदनमा पेस गर्नेछ ।