सहकारी छानबिन समितिले गर्‍यो गृहसचिव अर्याल र आईजीपी कुँवरसँग सोधपुछ

सफल खबर संवाददाता

शुक्रबार, २१ असार २०८१, १२ : ५२
सहकारी छानबिन समितिले गर्‍यो गृहसचिव अर्याल र आईजीपी कुँवरसँग सोधपुछ

काठमाडौं। सहकारी छानबिन विशेष समितिले गृहसचिव एकनारायण अर्याल र आईजीपी वसन्तबहादुर कुँवरसँग सोधपुछ गरेको छ  ।समितिको शुक्रबार बसेको बैठकमा सहकारी प्रकरणका ठगी, उजुरी र यससँग सम्बन्धित विषयमा दुवैसँग सोधपुछ भइरहेको छ । 

बिहीबारमात्रै समितिले यी दुवैसँग सोधपुछ गर्ने निर्णय गरेको थियो ।पछिल्लो समय एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको ७ सदस्यीय विशेष छानबिन समितिले नियमित छलफल गर्दै सहकारी ठगीका विषयमा अध्ययन र अनुसन्धान गर्दै आएको छ । 

समितिले गृहमन्त्री रवि लामिछाने आबद्ध भएको गोर्खा मिडिया, यो मिडियामा गैरकानुनी रुपमा रकम आएका सुप्रिम, सूर्यदर्शन, स्वर्ण लक्ष्मीसहितका ९ वटा सहकारीको पनि छानबिन गरिरहेको छ ।​

यीबाहेक अन्य १७ वटा समस्याग्रस्त सहकारीको सञ्चालकसहितमाथि पनि समितिले छानबिन गरिरहेको छ ।जेठ १५ गते प्रतिनिधि सभामा बनेको समितिले जेठ २३ गतेबाट काम थालेको थियो ।काम थालेको तीन महिनाभित्र समस्या देखिएका २९ वटा सहकारीको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने छ । यस क्रममा समितिले एक महिनाको समय बिताएको छ ।