पूर्व डीआईजी शाहविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

सफल खबर संवाददाता

शुक्रबार, ०७ भदौ २०८१, ११ : २६
पूर्व डीआईजी शाहविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

काठमाडौँ । पूर्व डीआईजी महेशविक्रम शाह विरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । मध्य क्षेत्रीय तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले भ्रष्टाचार गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।

विशेष अदालतले पुस ११ मा गरेको फैसलामा चित्त नबुझेर सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता (सहसचिव) नरहरि घिमिरेले बताए । विशेष अदालतले शाहलाई ३ वर्ष कैद र १६ लाख ६९ हजार जरिवाना हुने ठहर गरेको थियो ।

मध्य क्षेत्रीय तालिम केन्द्रका तत्कालीन लेखापाल दीपेन्द्रप्रसाद पनेरुलाई पनि विशेषले शाहलाई समान जेल र जरिवाना हुने फैसला गरेको थियो ।प्रतिवादीहरू केशव सिंह ऐरी र सञ्जीव विशंखेले आरोपदाबीबाट सफाइ पाएका थिए ।

प्रतिवादी शाह र पनेरुले हानी नोक्सानी गरेको बिगोलाई भागबन्डा गरेर कैद तथा जरिवानाको सजाय घटाएर विशेषले गरेको फैसला त्रुटिपूर्ण भएको भन्दै आयोगले बदर गर्न माग गरेको छ ।

विशंखे कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल हुन् ।२०७२ मा शाह र लेखापाल समेतले १०३ जना प्रहरी जवानहरूको किर्ते भर्पाई र दस्तखत गरेर हिनामिना गरेको आयोगको अनुसन्धान निष्कर्ष छ । 

प्रतिक्रिया दिनुहोस