वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्च अदालतको आदेश

सफल खबर संवाददाता

आइतबार, ०२ भदौ २०८१, १२ : ५४
वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । साउन ३२ गते न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

करेन्ट चाउचाउले वाईवाईको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाईको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो ।

उक्त आदेश विरुद्ध यशोदा फुड्स वाईवाईको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनु पर्ने दाबीका साथ सर्वोच्च अदालत गएको थियो । सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाईवाईको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको हो ।

यशोदा फुड्सद्वारा उत्पादित करेन्ट चाउचाउले विश्वभर ख्याति प्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी वाइवाइ जस्तै देखिने र्‍यापर प्रयोग गरेर उपभोक्तालाई भ्रममा पार्ने काम गर्दै आएको कम्पनीले जनाएको छ ।

चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातिलाई दुरुपयोग गर्न र उपभोक्तालाई झुक्क्याउने नियतले यशोदा फुड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरेको दाबी सीजी फुड्सको छ ।

यशोदा फुड्सले वाईवाईको नक्कल गरी उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रूपमा दर्ता गर्न समेत कोसिस गरेको थियो । उच्च अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रक्रियालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको थियो ।

यस आदेशले वाइवाइको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने हुन्छ । यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत् रूपमा बिक्री वितरण गरिएमा अदालतको मानहानि गरेको मानिने छ ।

अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरी चौधरी ग्रुपद्वारा उत्पादित वाइवाइ नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखिको पहिलो रोजाइमा रहँदै आएको छ ।

यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याति कमाएको वाइवाइको लोकप्रियताको दुरुपयोग गर्ने नियतका साथ करेन्टले वाइवाइको ट्रेडमार्क नक्कल गरेको कम्पनीले जनाएको छ ।

अदालतको यस आदेशले बौद्धिक सम्पत्ति चोरी गरी नाजायज फाइदा उठाउन खोज्ने प्रवृत्तिलाई निरुत्साहित गरेको छ ।

प्रतिक्रिया दिनुहोस