कामरेड बद्री तिमिल्सिना दुई दिनमै हिरो : प्रचण्ड

सोमबार, २० कार्तिक २०७४, १६ : ५२
कामरेड बद्री तिमिल्सिना दुई दिनमै हिरो : प्रचण्ड


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर तीनका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका बद्री तिमिल्सिना दुई दिनमै हिरो भएको बताएका छन् । माओवादी पार्टी कार्यालय भरतपुरमा सोमबार संयुक्त वाम गठबन्धनको जिल्लास्तरीय निर्वाचन परिचालन समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
कामरेड बद्री तिमिल्सिना माओवादी केन्द्रमा प्रवेश गरेपछि देशैभरी तरंग पैदा भएको छ, पूर्वप्रधानमन्त्री प्रचण्डले भने, दुई दिनमै हिरो हुनुभयो बद्री कामरेड । बद्रीजीले पछाडि फर्केर राजा आऊ देश बचाऊ भन्नुभएको भए जिरो बन्नु हुनेथियो । अगाडिको बाटो हेरेर लालसलाम भन्नुभयो, आज हिरो हुनु भयो । वास्तवमा हिरो बन्न यस्तैयस्तै अरुले सोच्दै नसोचेको काम गर्नुपर्छ । हामीहरुले सधैँ भविष्य हेर्नुपर्छ, विगत कोट्याएर केही फाइदा हुँदैन ।
नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि क्षेत्र नम्बर तीनमा आयोजित चुनावी सभाहरुमा बद्री तिमिल्सिनाले मन्तव्य राख्दै आएका छन् । उनले चार सिट ल्याउने हैसियत नभएको पार्टीको भविष्य नरहेको बताउँदै आफूले राजनीतिमा यु टर्न गरेको बताएका छन् । विगतमा राप्रपा र पछिल्लो समय राप्रपा प्रजातान्त्रिकको जिल्ला अध्यक्ष रहेका तिमिल्सिना प्रखर वक्ताका रुपमा चिनिन्छन् । जिल्ला समितिका बहुमत सदस्यसहित तिमिल्सिना माओवादी प्रवेश गरेपछि क्षेत्र नम्बर तीनमा प्रचण्डको विजय अझ सजिलो भएको चितवनवासीको विश्लेषण छ ।

 

प्रतिक्रिया दिनुहोस